महिन्द्रा र फोर्डले संयुक्त रुपमा मिडसाइज एसयूभी निर्माण गर्ने घोषणा गरेका छन् । महिन्द्राको प्लाटफर्म तथा पावरट्रेनमा निर्माण हुने एसयूभी सी सेग्मेन्टमा आउने कम्पनीले जनाएको छ ।
दुई कम्पनीले नयाँ टेलिम्याटिक कन्ट्रोल युनिटको काम गर्ने अनुमान गरिएको छ । महिन्द्राले आफ्नो लो डिस्प्लेसमेन्ट पेट्रोल इन्जिन फोर्ड कम्पनीलाई सप्लाई गर्ने भएको छ भने फोर्डले सो इन्जिनको प्रयोगमार्फत बीएस–६ मापदन्डमा आधारित मोडल निर्माण गर्ने योजना बनाएको छ ।
महिन्द्राका प्रबन्ध निर्देशक पवन गोयन्काले २०१७ देखि नै फोर्डसँग सहकार्य गर्ने रणनीति बनाएको बताउँदै सहकार्यले थप उर्जा दिएको बताएका छन् । उनले भने ‘सहकार्यले दुबै कम्पनीलाई साहस र उर्जा थपेको छ । दुबै कम्पनीले संयुक्त रुपमा नयाँ उत्पादनलाई जोड दिनेछौं । यसले दुबै कम्पनीको अर्थव्यवस्था राम्रो बनाउने हाम्रो विश्वास छ ।’
यस्तै, फोर्ड कम्पनीका प्रेसिडेन्ट जिम फार्लीले नयाँ व्यापार, प्रविधी र रणनीतिले प्रतिस्पर्धात्मक अटोबजारमा भिज्न सहज बनाउने विश्वास व्यक्त गरे । उनले भने ‘सहकार्यले दुबै कम्पनीलाई थप मजबुद बनाएको छ । यसले, भारतजस्तो प्रतिस्पर्धी बजारमा भिड्न सहज बनाउँछ भन्ने विश्वास हामीले लिएका छौं । आगामी दिनमा उत्कृष्ट उत्पादनमा केन्द्रित हुनेछौं भने ग्राहकको मन जित्ने प्रयास गर्नेछौं ।’

