काठमाडौं । ऊर्जा , जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले १०० दिनमा आफूले गरेका काम सार्वजनिक गरेका छन्।
बुधबार भौतिक मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै उनले १०० दिनमा तीनवटा मन्त्रालय अन्तर्गत गरेका १०१ कामको सूची सार्वजनिक गरेका हुन् ।
उनले १०० दिनमा ऊर्जा मन्त्रालयमा ३१, भौतिक पूर्वाधारमा ३६ वटा र सहरी विकास मन्त्रालयमा ३४ उपलब्धि हासिल गरेको बताएका छन् ।
उनले यो अवधिमा अधिकांश समय फिल्डमै खटेर काम गरेको बताए। उनले रूग्ण ठेक्का तोड्ने, बिजुली बक्यौता उठाउने, विपद व्यवस्थापन, फोहोर व्यवस्थापन, आयोजनाहरूको स्थलगत अनुगमन, आयोजनाका लागि ऋण सम्झौता लगायत काम गरेको उल्लेख गरेका छन् ।
उनले १०० दिन समयका हिसाबले छोटो भएता पनि जिम्मेवारीका हिसाबले अत्यन्त गह्रौँ रहेको बताए । ‘उनले १०० दिन समयका हिसाबले छोटो भएता पनि जिम्मेवारीका हिसाबले अत्यन्त गह्रौँ छन् । आलोचनाबाट नडराई, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको छु । जेन-जी आन्दोलनको सुशासनसम्बन्धी मुख्य मागलाई आफूले सम्हालेको मन्त्रालयहरूमा दृढताका साथ लागू गरिएको छ । भाषणभन्दा काम र देखिने नतिजालाई प्राथमिकता दिइएको छ,’ उनले भने ।
उनले १०० दिन सुरुआत मात्र भएकाले अझै धेरै काम र सुधार गर्न बाँकी रहेको बताए । आगामी दिनमा आफ्नो ध्यान बाँकी काम र सुधारतर्फ नै केन्द्रित रहने उनको भनाइ छ ।
यस्ता छन् कुलमानले भौतिक पूवार्धार मन्त्रालय अन्तर्गत गरेका ३६ उपलब्धिहरू
१. जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण संकलन गरी जलेका सवारी साधन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा जम्मा गरिएको र क्षति भएका संरचनाको मर्मत तथा पुननिर्माण गरिएको ।
२. क्षतिग्रस्त कार्यालयहरु मर्मत सम्भार गरी तथा अन्य स्थानमा व्यवस्थापन गरी सेवा प्रवाह सुचारु गरिएको ।
३. सवारी तथा यातायात व्यवस्था ऐन २. ४९ को दफा १७६ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा ९२. को प्रतिबन्धात्मक वाक्यांश तीन वर्षसम्मको लागि लागु नहुने गरी ‘ईन्धन प्रणालीमा वातावरणमैत्री वा उर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा’ छुट दिने र सोको सूचना राजपत्रमा प्रकाशन गरिएको ।
४. कोटेश्वर चोक सुधारका लागि जापान सरकारको ३४.४९ अर्ब यन बराबरको ऋण सहयोगमा सम्झौता सम्पन्न भएको (३ डिसेम्बर २०२५) ।
५. देशको सम्पूर्ण यातायात प्रणालीलाई दिगो, सुरक्षित, समावेशी, हरित र प्रविधीमैत्री दिशातर्फ रुपान्तरण गर्न राष्ट्रिय यातायात नीति तयार पारिएको ।
६. सडक प्रयोगकर्ताको सुरक्षार्थ सडक सुरक्षा कार्ययोजना तयार पारिएको ।
७. निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सार्वजनिक खरिद कानूनलाई समयानूकुल संशोधन गर्न मस्यौदा तयार गरी सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको ।
८. ४ लेन वा सो भन्दा बढी लेनका करिब ८ किमि कालोपत्रे सडक निर्माण सम्पन्न भएको ।
९ . हुलाकी राजमार्ग अन्तर्गत २६.५ किमि, पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत ११ किमि,, उत्तर दक्षिण आयोजना अन्तर्गत १० किमि, मदन भण्डारी राजमार्ग अन्तर्गत ६.६ किमि, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत ५ किमि, सडक सुधार आयोजना अन्तर्गत ५ किमि लगायत १६० किमि सडक २ लेनमा कालोपत्रे सम्पन्न भएको एवं १० वटा पुल निर्माण सम्पन्न भएको ।
१०. निर्माण व्यवसायीको कारण २३५ वटा ठेक्काहरू रुग्ण रहेकामा ४० वटा ठेक्काहरु तोडिएको र करिब डेढ सय बाँकी प्रकृयामा रहेको ।तोडिएका ठेक्काहरूको खरिद व्यवस्थापन गर्न पुनः ठेक्का आव्हानको लागि प्रकृया थालिएको ।
११. सिद्धबाबा सुरुङ्ग मार्ग अन्तर्गत भाद्रसम्म १०८९ मि. मुख्य सुरुङगको कंक्रिट लाइनिंग गरिएकोमा हालसम्म मुख्य सुरुङगको सम्पूर्ण (११२६ मि) र तीनवटै बाइपास टनेलको सम्पूर्ण ४४० मिटर कंक्रिट लाइनिंग सम्पन्न भएको ।
१२. वाढीवाट क्षतिग्रस्त विपी राजमार्ग अस्थायी रुपमा तत्काल सञ्चालन र स्थायी रुपमा पुननिर्माणका लागि तदारुपताका साथ ठेक्का व्यवस्थापन गरिएको ।
१३. नागढुंगा सुरुङ्ग मार्गको संचालनको लागि सेवा खरिद गर्ने सम्बन्धी बोलपत्रको सूचना प्रकाशित भएको ।
१४. आबुखैरेनी-मुगलिङ सडक खण्डको मार्गअधिकार (राईट अफ वे) सडक केन्द्र देखि १५ मिटर दुबै तर्फ हुने गरी निर्धारण गरिएको ।
१५. काठमाडौं जिल्लाका सामरिक महत्वका सडकमा रहेका खाल्डाखुल्डी तत्काल मर्मतका लागि सडक एम्बुलेन्स तथा मोवाइल एव सञ्चालनमा ल्याइएको ।
१६. सडक बोर्डमार्फत नवलपरासीको भुमहीबाट रुपन्देहीको भैरहवा सडक खण्डमा टोल गेट स्थापना गरी सडक दस्तुर संकलन गर्न थालिएको ।
१७. इन्जिनियरिङ समूहको ईन्जिनियर पदको परिक्षा दिनको लागि अनिवार्य रुपमा परिषद्मा दर्ता हुनु पर्ने व्यवस्थाको लागि नियमावली संसोधन प्रस्ताव तयार गरी रायको लागि कानुन मन्त्रालय पठाईएको ।
१८. नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण गर्न डिजाइन स्वीकृत भई निर्माण कार्य सुरु भएको साथै तिनाऊ नदीमा सिग्नेचर ब्रिज निर्माण गर्न टेण्डर गरिएको ।
१९ . पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाग्मती-पथलैया खण्डको निर्माण कार्य गर्न अन्तराष्ट्रिय बोलपत्रको सूचना प्रकाशित भएको ।
२०. ग्राभेल सडक करिब ३५ किमि र नयाँ ट्रयाक ३० किमि का साथै आवधिक मर्मत तर्फ १५ किमि सडक मर्मत भएको ।
२१. बाढीबाट क्षतिग्रस्त सबै राजमार्गहरुको इमर्जेन्सी मर्मत गरी संचालनमा ल्याइएको ।
२२. स्थानीयको अवरोधका कारण बन्द रहेको चीनसँग जोड्ने प्रमुख तातोपानी नाका खुलाउनका लागि स्थलगत निरीक्षणमार्फत स्थानीयसँग सहमति कायम गरी नाका खुलाइएको । काठमाडौं-कोदारी सडकअन्तर्गत सिन्धुपाल्चोकको इकोमा सडक स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि बजेट व्यवस्थापन गरी कार्य गर्न टेण्डर आह्वान गरिएको ।
२३. सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमतिपत्र (क्यूआर) सहितको स्मार्टकार्ड छपाइ गरी १२ लाख थान विभागलाई उपलब्ध गराउने कार्यका लागि विभाग र केन्द्रबीच मिति २०८२।०७।१२ गते समझदारी पत्र (MOU) सम्पन्न भई छपाइ शुरु भएको,हालसम्म ६७०० ओटा प्रिन्ट भइसकेको र ५० हजार ओटा प्रिन्ट दिन तयारी अवस्थामा रहेको ।
२४. आगजनीबाट क्षतिग्रस्त डाटा सेन्टरको मर्मत एवं सेटअप गरी पुनस् सञ्चालन गरी देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट विद्युतीय सवारी दर्ता तथा सवारी चालक अनुमतिपत्र (EDLVRS) सम्बन्धी सेवा सूचारु गरिएको ।
२५. क्षति पुगेको डाटा सेन्टर हाललाई अस्थाई रुपमा संचालनमा ल्याई स्थायी संचलनका लागि पुनर्स्थापना गर्ने सम्बन्धी खरिद प्रक्रिया अगाडि बढाइएको ।
२६. चाडपर्व लक्षित यातायातलाई सहजीकरण गर्न काठमाडौंका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना एवं सञ्चालन गरिएको साथै सो समयमा सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न अनुगमन तथा नियमन गरिएको ।
२७. आन्दोलनका क्रममा क्षति पुगेका मिनभवन स्थित यातायात व्यवस्था विभागको भवन पुनर्निमाण गरी कार्यालय सञ्चालन एवं सेवा प्रवाहलाई व्यवस्थित बनाउँदै लगिएको।
२८. अन्तरप्रदेशमा चल्ने सार्वजनिक सवारी साधनहरुको रुट इजाजत तथा जाँचपासलाई (सवारी परीक्षण कार्यालयहरुबाट मात्र जारी हुने गरी) व्यवस्थित तथा एकरुपता कायम गर्न प्रदेशहरुसँग समन्वय गरिएको ।
२९. अथराइज्ड टेस्टिङ सेन्टर (सवारी साधनहरुको पूर्ण परीक्षण) , काठमाडौं उपत्यकामा पोडवे सञ्चालन सम्बन्धी पूर्व सम्भाव्यता अध्ययन, सार्वजनिक यातायात क्षेत्रमा कार्यरत व्यवसायी तथा पेशाकर्मीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने सम्बन्धी अध्ययन अगाडि बढाइएको ।
३०. सवारी तथा यातायात क्षेत्रका सम्बन्धमा जनगुनासोको प्रभावकारी सम्बोधन गर्न गुनासो व्यवस्थापन संयन्त्रलाई थप जिम्मेवार तथा जवाफदेही बनाइनुका साथै सेवा प्रवाहमा सहजीकरण गर्न विषयगत फोकल पर्सन तोकिएको ।
३१. यातायात व्यवस्थापनलाई थप सहजीकरण र प्रभावकारी बनाउन सरोकारवाला एवं जेनजी समूहसँग समन्वय बैठक बसी व्यवस्थापन समिति र विज्ञ सम्मिलित प्राविधिक समिति गठन गरिएको ।
३२. पूर्व पश्चिम रेलमार्ग निर्माण कार्य अन्तर्गत बर्दिबास चोचा खण्डको यस अवधिमा थप ४०० मिटर ट्रयाकवेड निर्माण कार्य सम्पन्न भएको ।
३३. बर्दिवास निजगड खण्डको जग्गा प्राप्ति गर्ने प्रारम्भिक अधिकारि तोक्ने तथा जग्गा प्राप्ति गर्ने निर्णय भएको।
३४. बर्दिवास रेलवे स्टेसनको ट्रयाक बेड तथा संरचना निर्माण कार्यको वहुवर्षीय ठेक्का व्यवस्थापन प्रक्रिया अघि बढाइएको ।
३५. काठमाडौं उपत्यकामा तार, टावर तथा एआई प्रविधिमा आधारित विद्युतीय पोड वे, माइक्रो रेलका सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइएको ।
३६. कोशी नदीमा जलयान संचालनका लागि यस सालको बाढीले ठाउँ ठाउँमा अवरोध गरेको कारण अवरोध हटाउने कार्य अघि बढाइएको ।

