काठमाडौं । चिनियाँ अटोमोबाइल्स उद्योगको सबैभन्दा कान्छो स्टार्टअप कम्पनी साओमी अटोले आफ्नो लक्ष्यभन्दा धेरै कार बिक्री गर्न सफल भएको छ । कम्पनीले २०२५ मा अधिकतम ४ लाख युनिट कार बिक्री गर्ने लक्ष्य लिएकोमा सोभन्दा धेरै कार बिक्री गरेको हो ।
साओमाीले सन् २०२५ जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ४ लाख ११ हजार ६२५ युनिट कार बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ । चिनियाँ इलेक्ट्रोनिक्स जाइन्ट साओमी सन् २०२३ बाट कारको व्यवसायमा प्रवेश गरेको हो । उसको उत्पादन भने २०२४ बाट बजारमा आएको थियो ।
महँगो मूल्यको बाबजूद तीव्र गतिमा बिक्री बढाउँदै लगेको साओमीलाई चिनियाँ ‘एप्पल’ कम्पनीको रूपमा व्याख्या गर्ने गरिन्छ । साओमीले चीनको १३८ शहरमा ४७७ वटा रिटेल स्टोर मार्फत आफ्नो कार बिक्री गर्दै आएको छ । कम्पनीसँग अहिले ३० हजार अमेरिकी डलरदेखि ४८ हजार डलरसम्मको गाडी छ ।
केबल दुई मोडल लिएर साओमीले बजारमा बलियो पकड बनाउन सकेको हो । कम्पनीसँग एसयूभी सेभेन सेडान र वाईयू सेभेन एसयूभी मोडल छन् ।
साओमीको एसयू सेभेन सेडान कार सन् २०२५ मा मात्रै ३ लाख युनिट माथि बिक्री भएको छ । वाईयू सेभेन बजारमा आएको धेरै भएको छैन । यसले बुकिङ खुला भएको तीन मिनेटमै २ लाख अनलाइन बुकिङ पाएको थियो ।
महँगो भए पनि किन धेरै बिक्री ?
मूल्य महँगो भए पनि मोर्डन डिजाइन, एथेस्ट टेक फिचर, उच्च पावर, लामो रेन्ज र लग्जरी गाडी भएकै कारण चिनियाँ धेरै उपभोक्ताले यसलाई किनेका हुन् । त्यसमाथि साओमीको इलेक्ट्रोनिक्स वस्तुहरू प्रयोगकर्ता र नेटवर्क बलियो हुँदा पनि अटोमोबाइल्स डिभिजनले फाइदा पाएको हो ।
तीन सेकेण्डको समयमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्ने गाडी फोर्डका सीईओले चलाएपछि झनै चर्चामा थियो । त्यसमाथि साओमीको हाइपर-ओएसले फोन, घर र कार जोड्छ । यस फिचरसँग घरबाट निस्कदा कार तयार पार्ने, कार लिएर घर आउँदा घरको बत्तिहरू बाल्ने जस्ता काम हाइपर-ओएसले गर्छ ।


