माघ भित्रै दस्तुर तिरेर सवारीधनीले लिन सक्छन् यी जरिवाना छुट

काठमाडौं । बागमती प्रदेशका सवारीधनीले यही माघ महिना भित्रै सवारी जाँचपास र बाटो इजाजत नवीकरण दस्तुर तिरेर जरिवाना छुट लिन सक्नेछन् ।

प्रदेश सरकारले दिएको छुट सुविधाको सदुपयोग गर्दै सवारीधनीले जरिवाना तिर्नबाट जोगिन सक्ने भएका हुन् ।

यद्यपि, यो छुट सुविधा सबै सवारी साधनले भने पाउने छैनन् । गत भदौ २३ गतेदेखि यातायात कार्यालयहरूको सेवा सुचारु नभएसम्मको अवधिमा सवारी जाँचपास र बाटो इजाजत नवीकरण मिति तोकिएका सवारी साधनले मात्र पाउने छन् ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पुस २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै जेनजी आन्दोलनले गर्दा सेवा अवरुद्ध भएको समय (भदौ २३ देखि सेवा सुचारु नभएको अवधिसम्म) बाटो इजाजतपत्र नवीकरण र सवारी जाँचपास गर्नुपर्ने अन्तिम मिति तोकिएका सवारी साधनहरूले माघ मसान्तसम्म दस्तुर बुझाउन आएमा लाग्ने जरिवाना तथा थप जरिवाना छुट दिने जानकारी गराएको थियो ।


Back_to_top