निसानको प्लाण्ट किन्न ४ चिनियाँ ब्राण्ड प्रतिस्पर्धामा

काठमाडौं । निसानले बिक्री गर्न लागेको एउटा प्लाण्ट किन्न ४ चिनियाँ ब्राण्ड बीच तीव्र प्रतिस्पर्धा भएको छ । निसान र मर्सिडिज बेन्जको संयुक्त लगानी रहेको मेक्सिको प्लाण्ट किन्न चिनियाँ ब्राण्डहरू बीच हानथाप भएको हो ।

चिनियाँ ब्राण्ड बीवाइडी, चेरी, ग्रेटवाल मोटर्स र जिलीले उक्त प्लाण्ट खरिद गर्न चाहेका छन् । निसान र मर्सिडिज बेन्जले बन्द गर्ने घोषणा गरेको उक्त प्लाण्टको वार्षिक उत्पादन क्षमता २ लाख ३० हजार युनिट रहेको छ ।

उत्तर अमेरिकी बजारको लागि रणनीति महत्वको हुने उक्त प्लाण्ट खरिद गर्दै आफ्नो उत्पादनसँग स्थानीय उत्पादन जोड्न सहज हुने भएको कारण चिनियाँ कम्पनीहरूले किन्न खोजेका हुन् । चिनियाँ कम्पनीको अलवा भियतनामी कम्पनी भिनफास्ट पनि उक्त प्लाण्ट किन्ने दौडमा सामेल भएको जनाइएको छ ।

निसान र मर्सिडिजले सन् २०१७ मा बनाएको उक्त प्लाण्ट बजारको अवस्था र परिवर्तित अटोमोबाइल बजारलाई ध्यानमा राख्दै बन्द गर्ने निर्णय दुई कम्पनीले लिएका थिए ।

मेक्सिकोमा खुलेका धेरै अटो प्लाण्टमा उत्पादन भएका कारहरू अमेरिकी बजारमा निर्यात हुने गर्थ्यो । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै बढाइएको करको कारण अहिले निर्यात निकै कमजोर बनेको छ । त्यसैले पनि निसान र मर्सिडिजले उक्त प्लाण्ट बन्द गर्ने निर्णय लिएका हुन् ।

चिनियाँ निर्माताहरूले तत्काल उक्त प्लाण्टबाट ठूलो लाभ प्राप्त गर्न कठिन भए पनि भविष्यको सम्भावना हेर्दै लगानी विस्तार गर्न खोजेको चिनियाँ रिपोर्टहरूले दाबी गरेका छन् । अहिले नै कुन कम्पनीले उक्त प्लाण्ट पाउँछ एकिन भएको छैन । तर, चिनियाँ कुनै एक कम्पनीले पाउने सम्भावना धेरै देखिन्छ ।


Back_to_top