चुनावको मुखमा कति भित्रिए लग्जरी कार ?

काठमाडौं । देश अहिले चुनावमय भएको छ । देशका हरेक निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले तीव्र रूपमा चुनावी गतिविधि गरिरहेका छन् ।

नेपालमा निर्वाचनलाई आर्थिक गतिविधि हुने मेलाको रूपमा समेत पनि लिइन्छ । किनभने यो बेला उम्मेदवारले जनतालाई पैसा बाँड्नेदेखि राजनीतिक दलले प्रचारप्रसारमा ठूलो रकम खर्च गर्छन् ।

नेपालमा चुनावको बेला अटोमोबाइल बजार पनि केही चलायमान हुन्छ । यो बेला राजनीतिक दलका नेताहरू आफैंले प्रयोग गर्नदेखि कार्यकर्तालाई उपहार दिनसम्म सवारी साधन खरिद गर्ने गर्छन् । साथै, सरकारी निकायले पनि सवारी किन्ने गरेका छन् ।

सन् २०२६ को जनवरीमा करिब ११०० कार नेपाल भित्रिएका छन् । भन्सार तथ्यांक अनुसार जनवरीमा २५ ब्राण्डका कार नेपाल भित्रिएका हुन् ।

जसमा अधिकांश सस्ता र मध्यम मूल्यका ह्याचब्याक र एसयूभी रहेका छन् । जनवरीमा सबैभन्दा धेरै टाटा, महिन्द बीवाइडी, चेरी, डोङफेङ, हुन्डाई लगायत ब्राण्डका कार भित्रिएका छन् ।

महँगा प्रिमियम र लग्जरी कार आयात भने निकै न्यून देखिएको छ । जनवरीमा करोड माथि मूल्य पर्ने करिब डेढ दर्जन प्रिमियम कार भित्रिएका छन् ।

जनवरीमा जापानी ब्राण्ड टोयोटा ल्याण्ड क्रुजर ८ युनिट नेपाल आएको छ । महँगो भए पनि ल्याण्ड क्रुजर नेपालमा निकै चर्चित छ ।

त्यस्तै, ब्रिटिश ब्राण्ड ल्याण्ड रोभरका ६ युनिट कार आएका छ । काइरोश इन्टरनेशनलले ल्याण्ड रोभरका १ युनिट डिफेन्डर ११० र ५ युनिट रेन्ज रोभर नेपाल ल्याएको हो ।

काइरेस इन्टरनेसनले जर्मनी लग्जरी ब्राण्ड अउडीको दुई वटा इलेक्ट्रीक कार नेपाल ल्याएको छ । कम्पनीले अउडी क्यू सिक्स इट्रोन भित्र्याएको हो ।

प्रिमियम र लग्जरी कार ब्राण्ड ज्यागुअर ल्याण्डरोभरले बनाएको प्रिमियम मोडल आइपेस मोडल पनि एक युनिट आयात भएको छ । यो कार कारक्याब गियर प्रालिले ल्याएको हो ।

यसअघि बिक्री हुँदै आएका प्रिमियम कार पोर्श्चे, टेस्ला जस्ता ब्राण्डका कार भने जनवरीमा भित्रिएका छैनन् ।


Back_to_top