नेपालमा १७५ सीसीको स्कुटर ल्याउँदै अप्रिलिया, के छ खास ?

काठमाडौं । अप्रिलियाको नयाँ एसआर १७५ सीसीको स्कुटर नेपालमा चाँडै सार्वजनिक हुने भएको छ ।

नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले नयाँ एसआर १७५ स्कुटर चैत महिना भित्रै सार्वजनिक गर्ने तयारी थालेको हो ।

भारतमा करिब ७ महिना अघि सार्वजनिक भएको एसआर १७५ स्कुटर डल्टाले अब नेपालमा बिक्री सुरु गर्न लागेको हो । नेपाली बजारमा एसआर १७५ स्कुटर ४ लाख ६० हजार रुपैयाँ हाराहारीमा बिक्री हुने अनुमान छ । भारतमा भने यसको मूल्य १ लाख २६ हजार भारु (एक्स शोरुम) तोकिएको छ ।

एसआर १७५ लाई अप्रिलिया इन्डियाले एसआर १६० को रिप्लेसको रूपमा भारतीय बजारमा उपलब्ध गराएको थियो । सोही मोडल नेपालमा आउने भएको हो ।

नयाँ एसआरमा प्रयोग गरिएको चेसिस फ्रेम र अन्य केही कम्पोनेन्टहरू एसआर १६० मै भएका पाउन सकिन्छ । यसको डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन । अप्रिलिया रेसिङ ग्राफिक्स डिजाइनका लागि निकै चर्चित ब्राण्ड हो ।

एसआर १७५ मा आकर्षक भाइब दिने नयाँ डेकल्स, एग्रेसिभ रेसिङ स्पोर्ट कलर लाइन, नयाँ कलर अप्सन, टेक्निकल पार्टसहरू र ककपिट लेभल भने नयाँ पाउन सकिन्छ ।

यसमा १७४.७ सीसीको सिंगल सिलिण्डर, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम ७ हजार २०० आरपीएममा १३.८ ब्रेकहर्स पावर र ६००० आरपीएममा १४.१४ एनएम पिक टर्क जेनेरेट गर्छ ।

कम्पनीले एसआर १७५ स्कुटरमा आफ्नो अप्रिलिया रेसिङ डीएनए डिजाइनलाई यथावत राख्दै यसमा अप्रिलियाको टुनो ४५७ मोटरसाइकलमा रहेको ५.५ इन्चको नयाँ कलरफुल टीएफटी डिस्प्ले दिएको छ ।

यसका साथै, सकुटरमा सीभीटी सिस्टम, अप्रिलिया एप सहितको ब्लूटुथ कनेक्टिभिटी सिस्टम, पूरा एलईडी लाइट सेटअप, १४ इन्चको अलोय ह्वील, ट्युबलेस टायर, डिस्कब्रेक, सिंगल च्यानल एबीएस र सस्पेन्सन सेटअपमा अगाडि टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक सेटअप पाउन सकिन्छ ।

डेल्टा अटोकर्पले नेपाली बजारमा अप्रिलियाको १२५ सीसी, १५० सीसी र १६० सीसी क्षमताको स्कुटरहरु बिक्री गर्दै आइरहेको छ ।


Back_to_top