भरतपुर विमानस्थलमा ‘रिफिलिङ’ सेवा सुरू

काठमाडौं । चितवनस्थित भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरू भएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरू गरेको हो ।

निगमका अनुसार भरतपुर विमानस्थलमा हवाई इन्धन भर्नका लागि २ थान रिफ्युलर र १ थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ । जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्नेगरी व्यवस्था मिलाइएको बताए ।

उनले हाल निर्वाचन आचारसंहिताका कारण भरतपुर विमानस्थलमा दरबन्दी सिर्जना गर्न नमिलेकाले हवाई इन्धन कार्यालय, सिनामंगलमा रहेका ६ जना कर्मचारीमार्फत सेवा सुरू गरिएको जानकारी दिए ।

यससँगै अब भरतपुर उडान गर्ने जहाजले सिट खाली राखेर जानु नपर्ने भएको छ । यसअघि भरतपुरमा इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंबाटै दुईतर्फी उडानको तेल भरेर जानुपर्ने बाध्यता थियो । धेरै तेल बोक्नुपर्ने हुँदा जहाजले हरेका उडानमा ५/६ सिट खाली राखेर जाने गरेका थिए।

निगम संचालक समिति बैठकको माघ १९ गतेको बैठकले भरतपुर विमानस्थलबाट हवाई इन्धन सेवा सुरू गर्न स्वीकृति दिएको थियो । त्यस्तै, २० गते निगम व्यवस्थापनले भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरू गर्ने निर्णय गरी कार्यालय राखेर सेवा सुरू गर्न निर्देशन दिएको थियो ।

भरतपुर विमानस्थलबाट हाल दैनिक ८ उडान हुँदै आएको छ । भरतपुर-काठमाडौ-भरतपुर र आंशिक रूपमा भरतपुर-पोखरा-भरतपुर उडान हुँदै आएको छ ।


Back_to_top