नेपालमा यही महिना लन्च हुँदै दुई नयाँ मोटरसाइकल

काठमाडौं । नेपाली बजारमा यही महिना (फेब्रुअरी) भित्रै दुई नयाँ मोटरसाइकल सार्वजनिक हुने भएको छ ।

सीएफमोटो र ट्रायम्फका नयाँ मोटरसाइकल फेब्रुअरी भित्रै बिक्री सुरू हुने भएको हो । यी दुवै कम्पनीले ल्याउने मोटरसाइकल ४०० सीसी क्षमताभन्दा माथिका छन् ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ट्रायम्फ स्क्रयाम्बलर ४०० को नयाँ भर्सन एक्ससी ल्याउने तयारी थालेको छ । कम्पनीले अबको केही दिनमै स्क्रयाम्बलर ४०० एक्ससी बिक्री सुरू गर्ने भएको हो ।

त्यस्तै, सीएफमोटोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले आगामी शुक्रबारदेखि ४५० सीसी क्रुजर मोटरसाइकल सार्वजनिक गर्दैछ । कम्पनीले सीएफमोटा सीएलसी ४५० को दुई भेरियन्ट सार्वजनिक गर्ने भएको हो ।

स्क्रयाम्बलर ४०० एक्ससी

स्क्रयामलर ४०० एक्ससी ‘एक्स मोडल’ भन्दा फरक कस्मेटिक डिजाइन र सेग्मेन्टकै पहिलो नयाँ कलर अप्सनमा छ । पूरा अफरोड प्रेरित डिजाइनमा तयार भएको नयाँ भेरियन्टमा क्रस स्पोक अलोय ह्वील र ट्युबलेस/डबल पर्पस टायर छ ।


यसमा अपसाइड डाउन यूएसडी फ्रन्ट फर्क र रियरमा एड्जस्टेबल अपसेट मोनोसक सस्पेन्सन सेटअप रहेको छ । स्क्रयामलर ४०० एक्ससीमा बडी कलर वेक स्टायलको मडगार्ड, फ्लाइ स्क्रीन, हाइ माउन्टेड फ्रन्ट फेन्डर, सानो विन्ड स्क्रीन, सम्प गार्ड, इन्जिन प्रोटेक्सन गार्ड छ ।

४०० एक्ससीमा ३९८ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ३९.५ पीएस पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

यसको मूल्यका बारेमा कुनै जानकारी बाहिर आएको छैन भने, यसको मूल्य स्क्रयाम्बलर एक्सको तुलनामा ६० देखि ७० हजार रुपैयाँ बढ्ने अनुमान गर्न सकिन्छ । हाल स्क्रयाम्बलर ४०० एक्सको मूल्य ७ लाख १४ हजार ९०० रुपैयाँ रहेका छ ।

सीएफमोटो सीएलसी ४५० क्रुजर/बब्बर

कम्पनीले सीएफमोटो ४५० सीएलसी क्रुजर र बब्बर नेपालमा भित्र्याउने भएको हो । निकै प्रिमियम देखिने रेट्रो डिजाइन क्रुजरमा पिलियन सिट उपलब्ध छ भने बब्बरमा सिंगल सिट छ । यसका अलावा अन्य फिचर र डिजाइन समान रहेको छ ।

सीएफमोटो ४५० सीएलसी क्रुजर र बब्बर मोटरसाइकलमा ४४९ सीसी लिक्वीड कुल्ड प्यारलल ट्वीन सिलिण्डर डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले ४० हर्षपावर र ४२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको गियर भएको यो मोटरसाइकलमा स्लिपर क्लच समेत उपलब्ध हुनेछ ।

यो मोटरसाइकल निकै प्रिमियम मोटरसाइकहरूमा हुने जस्तै बेल्ट ड्राइभ सिस्टम रहेको छ । ४५० सीएलसीको फ्रन्टमा ३७ एमएम यूएसडी सस्पेन्सन र रियरमा प्रिलोड मोनोशक सस्पेन्सन उपलब्ध छ ।

यो मोटरसाइकलमा १२ लिटरको फ्युल ट्याङक, ट्रयाक्सन कन्ट्रोल, साइड स्ट्याण्ड सेन्सर, टीएफटी डिस्प्ले, बारइण्ड मिरर, एलईडी लाइट सेटअप जस्ता फिचर उपलब्ध हुनेछ ।


Back_to_top