काठमाडौं । अहिले बजारमा हटकेक मोडल बनिरहेको दीपल एस-०५ को सिधा प्रतिस्पर्धी आउने भएको छ । यी दुई मोडल एउटै सेग्मेन्टमा उपलब्ध हुने भएको कारण प्रतिस्पर्धा कडा हुने देखिएको हो ।
दीपल एस-०५ नेपालमा बिक्री सुरू भएदेखि नै निकै राम्रो ब्यापार पाउन सफल मोडल हो । यसको लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २८८० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
नयाँ प्रतिस्पर्धीको रूपमा आउन लागेको एमजी एस सिक्सको लम्बाइ ४७०७ एमएम, चौडाइ १९१२ एमएम र उचाइ १६७२ एमएम छ । यी तीनवटै कुरामा एमजी एस सिक्स ठूलो छ । एउटा साँच्चै एसयूभीको लुक्स पनि यसमा पाउन सकिन्छ । ह्वीलबेस भने यसमा सानो छ । यसमा २८३५ एमएमको ह्वीलबेस पाउन सकिन्छ ।
साइजमा मात्रै होइन एमजी एस सिक्स रेन्जको कारण पनि दीपल एस-०५ माथि भारी पर्न सक्छ । डब्लूएलटीपी रेन्ज नै ५३० किलोमिटर दिने ७७ किलोवाट आवरको एलएफपी ब्याट्री यसमा रहेको छ ।

जबकि, दीपल एस-०५ मा ५६ं१ किलोवाट आवरको गोल्डन सिल्ड २.० एलएफपी ब्याट्री छ । यसको रेन्ज ४०० किलोमिटर हाराहारी सडकमै पाउन सकिन्छ । मोटर भने दुवैमा समान ९९ किलोवाटकै रहन सक्छ । एमजीको बिक्रेता पारामाउन्ट मोटर्सले अहिलेसम्म मोटर क्षमताको बारेमा केही जानकारी दिएको छैन ।
चार्जिङको कुरामा पनि एमजी सिक्स केही अगाडि देखिन्छ । यसले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
दीपल एस-०५ ले भने २०० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ । यसलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न भने केबल १५ मिनेट लाग्ने कम्पनीको दावी छ । ठूलो चार्जर सपोर्टमा एस-०५ अगाडि देखिन्छ ।

एमजीले एस सिक्सको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ । ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, हिटेड स्टेयरिङ, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स दिइएको छ ।
एमजी एस सिक्सको तुलनामा दीपल एस-०५ को क्याबिन फ्यूचरस्टिक छ । यसमा १५.४ इन्चको सनफ्लावर टच स्क्रीन, हेडअप डिस्प्ले, वेलकम सिट, १४ स्पीकरसहित स्काइ सराउण्ड साउन्ड सिस्टम उपलब्ध छ ।
यसका अलावा यी दुवै गाडीमा एडास लेभल टु उपलब्ध छ । यस भित्रका सुविधा पनि लगभग उस्तै रहने छन् । साइजमा केही भिन्नता रहेका यी दुईको साँच्चै प्रतिस्पर्धा हुने विषयमा भने मूल्य मुख्य कारण हुन्छ । अहिले दीपलले एस-०५ को टप भेरियन्ट किन्न ५७ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्छ ।
ठूलो ब्याट्री साइज र गाडीकै साइज पनि ठूलै भएको कारण यही आसपास मूल्यमा एमजी सिक्स आउने हो भने गज्जबकै प्रतिस्पर्धा देख्न पाइने छ ।

