ट्रायम्फले पूरा गर्यो १ लाख युनिट बिक्रीको माइलस्टोन

काठमाडौं । ब्रिटिस मोटरसाइकल ब्राण्ड ट्रायम्फले भारतमा १ लाख युनिट बिक्रीको माइलस्टोन पूरा गरेको छ ।

कम्पनीले भारतमा बिक्री सुरू भएको करिब साढे दुई वर्षको अवधिमा १ लाख युनिट मोटरसाइकल बिक्री गर्न सफल भएको हो ।

हाल कम्पनीले भारतमा बजाजसँगको सहकार्यमा ट्रायम्फको स्पीड ४००, स्पीड टी फोर, स्क्रयाम्बलर ४०० एक्स, स्क्रयाम्बलर ४०० एक्सी र थ्रक्स्टन ४०० जस्ता मोडलहरू बिक्री गरिरहेको छ ।

भारतमा ट्रायम्फ र बजाज बीचको साझेदारी सन् २०१७ बाट सुरु भएको हो । दुई कम्पनीको संयुक्त सहकार्यमा भारतमा पहिलो पटक निर्माण भएको स्पीड ४०० र स्क्रयाम्बलर ४०० एक्स दुई मोटरसाइकल हुन् ।

यी दुई मोडल भारतीय बजारमा सन् २०२३ मा मात्रै बिक्रीको लागि उपलब्ध भएका थिए । त्यसपछि कम्पनीले साढे दुई वर्षमा यही इन्जिनमा आधारित अन्य तीन नयाँ मोडल उपलब्ध गराएको हो । यी पाँच मोडलको कुल बिक्री संख्या १ लाख युनिट भएको हो ।

ट्रायम्फ मोटरसाइकल ब्राण्ड अहिले नेपालमा पनि निकै चर्चित हुँदै गइरहेको छ । नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । ट्रायम्फले नेपाली बजारमा छोटो समयमै आफूलाई स्थापित गर्न सफल भइसकेको छ ।

अहिले नेपालमा भने ट्रायम्फको स्पीड ४००, स्क्रयाम्बलर ४०० एक्स र एक्सी गरी तीन मोडल उपलब्ध छ । यसका अलावा कम्पनीले भारतमा निर्माण भएका ट्रायम्फको यी मोडलहरू अन्य १७ देशहरूमा समेत निर्यात गरिरहेको छ ।


Back_to_top