काठमाडौं । काठमाडौंमा सार्वजनिक सवारी र राइड सेयरिङका चालकहरूले लागू पद्धार्थ सेवन गरी सवारी चलाउने गरेको पाइएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुधौषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कको संयुक्त टोलिले गोंगबु नयाँबसपार्क बीजी महल अगाडि मंगलबार गरेको चेकजाँचमा यस्तो भेटिएको हो ।
चेकिङका क्रममा ५ जना चालकले लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको हो । जसमा यात्रुवाहक बस चालक ४ जना र मोटरसाइकल (राइड सेयिरङ) चालक १ जना रहेका छन् ।
नियन्त्रणमा लिइएका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी प्रभाग गोंगबु नयाँबसपार्क पठाइएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरित तथा दण्डनीय कार्य भएको ट्राफिकले जनाएको छ ।
यसरी सवारी चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरेको छ ।

