काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङबाट ७ जना विचौलिया पक्राउ परेका छन् ।
मंगलबार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ५३ थान ब्लूबुक र १ लाख २२ हजार रुपैयाँ नग पनि बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका-४ का ३९ वर्षीय विज्ञान राई, रामेछापको खाँडादेवी गाउँपालिका-७ का ३५ वर्षीय रमेश कार्की, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, रानिवनका ३६ वर्षीय विमल तामाङ, धादिङको निलकण्ठ नगरपालिका-५ कि ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का ३९ वर्षीय उद्धव खनाल रहेका छन् ।
बिचौलियाको काम गरी सेवाग्राहीहरूलाई दुःख हैरानी दिने, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरू समेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले सोमबार मात्रै यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ गरेको थियो ।

