काठमाडौं । यातायात व्यवस्था विभागले थप १७ लाख थान क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाईका लागि सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गर्ने भएको छ । विभाग र केन्द्र बीच आज (शुक्रबार) लाइसेन्स छपाई सम्बन्धी सम्झौता हुन लागेको हो ।
विभागका अनुसार हालसम्म ब्याकलग लाइसेन्स करिब २९ लाख छन् । सो मध्ये १२ लाख थान छपाइका लागि गत कात्तिक १२ गते सम्झौता भएको थियो । उक्त लाइसेन्स यही वैशाख १२ गते भित्रै छापिसकिने छ ।
बाँकी १७ लाख लाइसेन्स असार भित्रै उपलब्ध गराउने गरी आज मुद्रण केन्द्रसँग सम्झौता गर्न लागिएको विभागका निर्देशक केशव खतिवडाले जानकारी दिए ।
लाइसेन्स छपाइका लागि अर्थमन्त्रालयले बजेट निकासा गरेसँगै सम्झौता गर्न लागिएको उनले बताए । उनका अनुसार अर्थले लाइसेन्स छपाइका लागि आवश्यक साढे ३७ करोड रुपैयाँ बजेट उपलब्ध गराइसकेको छ ।
‘हालसम्म ब्याकलग लाइसेन्स करिब २९ लाख छ । सोमध्ये १२ लाख छपाइका लागि गत कात्तिकमै सम्झौता गरेका थियौं । यही वैशाख १२ गतेभित्र छपाइ भइसक्छ,’ उनले मेरोअटोसँग भने, ‘बाँकी १७ लाख छाप्न आवश्यक बजेट अर्थ मन्त्रालयबाट निकासा भएसँगै आज मुद्रण केन्द्रसँग सम्झौता गर्न लागेका हौं ।’
उनका अनुसार केन्द्रसँग यसअघिकै दर अनुसार सम्झौता गर्न लागिएको हो । यसअघि केन्द्रले प्रतिलाइसेन्स २२०.५४ रुपैयाँ (करसहित)मा छाप्न ठेक्का पाएको थियो ।
केन्द्रलाई छपाइ दर घटाउन आग्रह गरिए पनि लागत बढी रहेकाले नसकिने जवाफ आएको उनले बताए । उनले आगामी असार मसान्तसम्म सबै सेवाग्राहीले लाइसेन्स पाइसक्ने बताए ।
केन्द्रले कात्तिक यता छापेर पठाएको ५ लाख बढी लाइसेन्स वितरणका लागि सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको उनले बताए । केन्द्रले बनेपास्थित अत्याधुनिक प्रिन्टिङ प्रेसमा लाइसेन्स छापेर विभागमा ल्याइदिन्छ । त्यसपछि विभागले हुलाकमार्फत सम्बन्धित कार्यालयहरूमा पठाउँछ । सेवाग्राहीले आफूले आवेदन दिएकै कार्यालयबाट लाइसेन्स पाउने छन् । हाल देशभरका ४२ वटा यातायात कार्यालयहरूबाट लाइसेन्स सम्बन्धी काम हुँदै आएको छ ।
केन्द्रले छाप्ने क्यूआरकोड सहितको लाइसेन्समा २८ वटा सेक्युरिटी फिचर रहेका छन् । जसमा लाइसेन्सको अगाडिको भागमा २८ वटा फिचर रहने छन् । त्यस्तै, पछाडिको भागमा पनि अगाडि रहेकै १० वटा फिचर छन् ।

