काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले क्यूआर कोडसहितको साढे ७ लाख थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गरेको छ ।
गत कात्तिक २१ देखि लाइसेन्स छाप्न सुरु गरेको केन्द्रले सोमबार बिहानसम्म कुल ७ लाख ४९ हजार १७९ थान लाइसेन्स छापेको हो ।
केन्द्रका अनुसार हालसम्म ३६ हजार ४८८ वटा आपतकालीन, ७ हजार ३५४ दैनिक र ७ लाख ५ हजार ३३७ थान ब्याकलग लाइसेन्स प्रिन्ट गरिएको छ ।
त्यस्तै, १ लाख १७ हजार ३३७ थान लाइसेन्स छपाइको प्रक्रियामा रहेको केन्द्रले जनाएको छ । यातायात व्यवस्था विभाग र केन्द्र बीच २०८२ कात्तिक १२ गते ६ महिना भित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो ।
सो अनुसार केन्द्रले यही वैशाख १२ गतेसम्म १२ लाख थान लाइसेन्स छापिसक्नुपर्नेछ । अब ३ लाख ३३ हजार २७२ लाइसेन्स छापन बाँकी रहेको छ । सो लाइसेन्स बाँकी ५ दिन भित्र छापिसकिने केन्द्रले जनाएको छ ।
विभाग र केन्द्र बीच दोस्रो चरणमा १७ लाख लाइसेन्स आगामी असार भित्रै छापिसक्ने गरी गत शुक्रबार सम्झौता भएको छ । पहिलो चरणको लाइसेन्स छपाइ सकिएपछि दोस्रो चरणको काम सुरू हुने केन्द्रको भनाइ छ ।


