काठमाडौं । नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ । नयाँ कारको झण्डै ६५ प्रतिशत हिस्सा ईभीको छ । अझ् पछिल्लो समय पेट्रोलको मूल्य अचाक्ली बढेपछि ईभीको माग झनै बढ्न थालेको छ ।
सन् २०२६ को साढे ३ महिना (जनवरी-अप्रिल १५)मा ३ हजार २१२ नेपाल युनिट कार आयात भएको छ । सोमध्ये २ हजार १८३ युनिट ईभी रहेका छन् ।
नेपालमामा २ दर्जन बढी ब्राण्डका विद्युतीय कार उपलब्ध छन् । ती ब्राण्डले आधादर्जन सेग्मेन्टका कार आयात गर्छन् । बजारमा मिनिकार, ह्याचब्याक, एसयूभी, प्रिमियम लग्जरी एसयूभी, सेडान, एमपीभी सेग्मेन्टका कार उपलब्ध छन् ।
तीमध्ये एसयूभी सेग्मेन्ट निकै चर्चित छ । कुल आयातमा एसयूभीको हिस्सा झण्डै दुईतिहाइ छ । २०२६ को साढे ३ महिनाको आयात तथ्यांक अनुसार ६ सेग्मेन्टमा ४ ब्राण्डका ईभीले मार्केट लिड गरेका छन् । सेग्मेन्ट लिडरमा बीवाइडी, टाटा, केई र एमजी ब्राण्ड छन् । बीवाइडी एक्लैले ३ सेग्मेन्ट लिड गरेको छ ।

मिनीकार : नेपालमा मिनीकारको बिक्री उल्लेख्य मात्रमा देखिँदैन । सहरका लागि उपयुक्त, सस्तो मूल्य, छरितोको बाबजूद यसप्रति आकर्षण बढ्न सकेको छैन । सन् २०२६ को साढे ३ महिनामा कुल ३२ युनिट मिनीकार आयात भएका छन् । जसमा केई इक्युट सेग्मेन्ट लिडर रहेको छ ।
लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइल्सले संयुक्त रूपमा २१ युनिट इक्युट ०२/०४ ल्याएका छन् । यो सेग्मेन्टमा इक्युटको ६५ हिस्सा प्रतिशत छ । इक्युट बाहेक ब्रम्बी ४ युनिट र लिङबक्स ७ युनिट आयात भएको छ ।
ह्याचब्याक : बजारमा नयाँ नयाँ एसयूभी आउने क्रम बढेसँगै ह्याचब्याक ईभीको व्यापार पनि घट्दो क्रममा छ । साढे ३ महिनामा कुल ४०८ युनिट ह्याचब्याक ईभी आयात भएको छ ।

यो सेग्मेन्टमा टाटा टियागो ईभी लिडर रहेको छ । साढे ३ महिनाको अवधिमा सिप्रदी ट्रेडिङले २०१ युनिट टियागो ल्याएको छ । त्यस्तै, दोस्रोमा डोङफेङ नामी १२५ युनिट र तेस्रेमा बीवाइडी एटो १ ६० युनिट आयात भएको छ ।
एसयूभी : साढे ३ महिनामा कुल १३११ युनिट इलेक्ट्रीक एसयूभी आयात भएको छ । यो सेग्मेन्टमा लिडर बन्न कडा टक्कर देखिएको छ । जसमा साइमेक्स इंकले सबैभन्दा धेरै २५२ युनिट बीवाइडी एटो टु ल्याएको छ ।
त्यस्तै, टाटा पन्च ईभी २०५, आइकार भी २३ २०२, डोङफेङ भिगो १९५, दीपल एस ०५ १३२ र महिन्द्रा बीई सिक्स १२४ युनिट आयात भएको छ । अन्य मोडलका एसयूभीले भने १०० युनिटको आँकडा पार गर्न सकेका छैनन् ।

प्रिमियम एसयूभी : यो सेग्मेन्टमा बीवाइडीले एकछत्र राज गरेको छ । साढे ३ महिनामा ११२ युनिट प्रिमियम एसयूभी आयात हुँदा साइमेक्स इंकले १०६ युनिट सिलायन सेभेन ल्याएको हो । किया ईभी ९, अउडी र बीएमडब्लू आइएक्स वान समान २/२ युनिट आयात भएको छ ।
लग्जरी सेडान : साढे ३ महिनामा जम्मा ८ युनिट लग्जरी सेडान ईभी आयात भएको छ । जसमा पारामाउन्ट माटर्सले सबैभन्दा धेरै एमजी आइएम सिक्स ६ युनिट ल्याएको छ । त्यस्तै, एक्सपेङ जी६ र टेस्ला १/१ युनिट भित्रिएको छ ।

एमपीभी : साढे ३ महिनामा जम्मा १ युनिट इलेक्ट्रीक एमपीभी आयात भएको छ । साइमेक्स इंकले बीवाइडी एम सिक्स एक युनिट ल्याएको हो । अन्य ब्राण्डले १ युनिट पनि इलेक्ट्रीक एमपीभी ल्याएका छैनन् ।

