काठमाडौं । मोरिस ग्यारेज (एमजी)को लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ एसयूभी एस सिक्स नेपाल ल्याएको छ । आजै बेलुका सार्वजनिक गर्ने तयारी भइरहेको एस सिक्स मिड साइज कम्प्याक्ट एसयूभी हो ।
यसलाई मेरोअटो डटकमले काठमाडौं उपत्याकाका विभिन्न स्थानमा चलाएर हेरिसकेको छ । उपत्यकाको व्यस्त सडकदेखि नजिकको पहाडी इलाका (जहरसिंहपौवा)सम्म यसलाई चलाएर हेरेका थियौं । जसको पर्फमेन्स उत्कृष्ट थियो ।
एमजीले सन् २०१९ देखि नै नेपालमा विद्युतीय कार बिक्री गर्दै आएको छ । कम्पनीले ल्याएको इलेक्ट्रीक एसयूभीहरूले राम्रो व्यापार पाएको इतिहास छ । पारामाउन्ट मोटर्स स्रोतका अनुसार नयाँ बिक्री सुरू गर्न लागिएको एस सिक्सले उपभोक्ता तान्न सक्षम हुनेछ । कम्पनीको यो दाबीलाई हामीले गरेको टेस्ट ड्राइभले पनि पुष्टि गर्छ ।
अहिलेसम्म मूल्य घोषणा भएको छैन । मूल्य घोषणा नभएको कारण यसको फिचर र मूल्य तुलना गर्न सकिएन । तर, पनि अधिकतम ७० देखि ७२ लाख रुपैयाँसम्म मूल्य पर्ने आधारमा यसमा रहेका फिचरलाई यहाँ केलाउने प्रयास गरिएको छ ।

उत्कृष्ट पावर
एमजी एस सिक्समा नर्मल, कम्र्फट, स्पोर्टस्, र स्नो ड्राइभिङ मोड दिइएको छ । यी कुनै पनि मोड प्रयोग नगरेर आफैँ कस्टुमाइज पनि गर्न सकिन्छ । एमजीले एस सिक्समा १८० किलोवाट आवरको रियर ह्वील मोटर दिएको छ ।
नर्मल मोडमै काफी पावर लाग्ने एसयूभी त्यो माथिका सबै ड्राइभ मोडमा चलाउन मज्जा आउनेछ । तीव्र गतिमा चलाउन मिल्ने एसयूभी निकै स्टेवल लाग्छ । गाडीलाई घुमाउन पनि ठूलो ठाँउको आवश्यकता पर्दैन ।
निकै लामो रेन्ज
एमजीले एस सिक्सलाई ५३० किलोमिटर डब्लूएलटीपी रेन्ज दिनेगरी बजारमा ल्याएको छ । यसमा ७७ किलोवाट आवरको एनसीएम ब्याट्री छ । त्यसैले यसको रेन्ज पनि निकै धेरै लाग्छ । यसमा रहेको ब्याट्रीलाई १४४ किलोवाट क्षमताको डीसी चार्जरले चार्ज गर्न सकिन्छ ।

आरामदायी सिट
एमजी एस सिक्समा निकै आरामदायी सिट दिइएको छ । सबै सिटमा हिटिङ सुविधा उपलब्ध छ । अगाडिका दुवै सिटमा कुलिङ सुविधा पनि पाउन सकिन्छ । ड्युल जोन एसी र पछाडिका प्यासेन्जरलाई पनि डेडिकेटेड एसी भेन्ट दिइएको छ ।
सस्पेन्सन र ड्राइभिङ सिस्टम
एमजीले प्रयोग गर्ने पछाडिको इन्डिपेन्डेन्ट सस्पेन्स उत्कृष्ट रहँदै आएको छ । एमजी फोर होस् वा एस फाइभ दुवैमा उत्कृष्ट सावित भइसकेको सस्पेन्सन यसमा पाउन सकिन्छ । पछाडिको सस्पेन्स इन्डिपेन्डेन्ट भएको कारण खाल्डाखुल्डी भएका बाटाहरूमा पनि स्मुद यात्रा सम्भव हुन्छ ।

एमजीको अर्को बलियो पक्ष रियर ह्वील ड्राइभ सिस्टम हो । पावरफुल मोटरको साथमा दिइएको रियर ह्वील ड्राइभले साँचै ‘ड्राइभिङ फन’ प्रदान गर्नेछ ।
स्टोरेज
एस सिक्स मानिस बस्न र चलाउन मात्रै होइन, सामान राखेर यात्रा गर्न पनि पर्फेक्ट एसयूभी हो । यसमा ६७४ लिटरको विशाल बुट स्पेश पाउन सकिन्छ । यदि, पछाडिको सिट फोल्ड गर्ने हो भने त १९१० लिटर पुग्नेछ । त्यति मात्र होइन अगाडिको फ्रन्ट फ्रङ्क्स पनि १२४ लिटरको पाउन सकिन्छ ।

क्याबिनमा चालकको आर्म रेस्टको मुनि, सेन्टर कन्सोलको तल्लो भागमा पनि स्टोरेज पाउन सकिन्छ । साथै, ग्लोब बक्स पनि दिइएको छ ।
बटनहरूको प्रयोग
एमजीले एस सिक्स एसयूभीमा दुई स्क्रीन दिएको छ । इन्फर्मेसन डिस्प्ले, हेडअप डिस्प्ले र इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध कारमा फिजिकल बटनहरू पनि प्रयोग भएका छन् । एसी अनअफदेखि टेम्पेचर कन्ट्रोलसम्म बटनको प्रयोगबाट गर्न सकिन्छ । साथै, भोलुम कन्ट्रोलदेखि एसीको फ्यानको स्पीड कन्ट्रोल बटनबाटै हुन्छ ।


