चेरी क्यू, टाटा लगायतको स्टलमा झुम्मिए ग्राहक (फोटोफिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो जारी छ । मंगलबारदेखि सुरू भएको अटो महाकुम्भ मेलामा ५५ अटो ब्राण्डले सहभागिता जनाएका छन् ।

एक्स्पोमो तेस्रो दिन आइपुग्दा ४५ बढी नयाँ मोडलमा सवारी साधन लन्च भइसकेका छन् । यो वर्ष नाइमामार्फत नेपालमा आधा दर्जन बढी नयाँ कार ब्राण्ड भित्रिएका छन् । चिनियाँ ब्राण्ड होङ्छी, बीएआइसी, चेरी क्यू, हाभाल, होनरी भोमा लगायत ब्राण्डले पहिलोपटक सहभागिता जनाएका हुन् ।

नाइमा एक्स्पोमा अवलोकनकर्ताको उत्साहजन सहभागिता देखिन्छ । दुई दिनेमै ५५ हजार बढीले भ्रमण गरिसकेको नाइमाले जनाएको छ । एक्स्पोमा प्रमुख ब्राण्डहरू र केही नयाँ ब्राण्डको स्टलमा राम्रै भीड देखिन्छ । बजेट फ्रेण्डली कारहरूमा धेरैको चासो देखिन्छ ।

एक्स्पोमा प्रवेश गर्ने बित्तिकै करिब आमनेसामने रहेको बीवाइडी, टाटा र चेरी क्यूको स्टलमा अवलोकर्ताको निकै भीड देखिन्छ । बीवाइडीले एक्स्पोमा एटो वान र थ्रीको अपडेटेड भर्सन राखेको छ । साथै एटो टु सानो ४५ किलोवाट आवरको ब्याट्री साइजमा ल्याएको छ । नेपाली बजारमा ईभी लिडरको रूपमा रहेको बीवाइडीले ल्याएको नयाँ मोडल बारे चासो राख्ने धेरै हुँदा भीड बाक्लै देखिन्छ ।

बीवाइडी नजिकै रहेको टाटा र चेरी क्यूको स्टलमा पनि बाक्लो भीड देखिन्छ । पहिलोपटक नाइमामा सहभागी भएको टाटाले आफ्नो चर्चित मोडल टियागो ईभी र पन्च ईभीको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ टिगागो २८ लाख ९९ हजार र नयाँ पन्च ईभी ३३ लाख ९९ हजारमै उपलब्ध गराएको छ । फेसलिफ्ट भर्सन आकर्षक मूल्यमा ल्याएपछि अवलोकनकर्ता झुम्मिएको देखिन्छ ।

त्यस्तै, नयाँ ब्राण्ड चेरी क्यूमा अवलोकनकर्ता धेरै चासो देखिएको छ । नयाँ ब्राण्ड, आकर्षक मूल्य र विश्व प्रसिद्ध ब्राण्ड भएकाले चेरी क्यू बारे बुझ्न जाने धेरै देखिन्छन् । चेरी क्यूले पहिलो दिनदेखि नै उत्साहजनक सहभागिता र राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।

कम्पनीले नाइमा विशेष अफर अन्तर्गत प्रिमियम ह्याचब्याक चेरी क्यूको कम्फर्ट भेरियन्ट ३० लाख ९९ हजार र प्रिमियम ३२ लाख ९९ हजारमै उपलब्ध गराएको छ । यद्यपि, आधिकारिक मूल्य कम्फर्टको ३४ लाख ४९ हजार र प्रिमियमको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

मलेसियन ब्राण्ड प्रोटोनमा पनि अवलोकनकर्ताको राम्रै भीड देखिन्छ । हालै बजारमा ल्याएको प्रोटोन इमास फाइभले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका प्रतिनिधहरू बताउँछन् ।

कम्पनीले इमास फाइभ प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । रियर ह्वील ड्राइभ, आधुनिक फिचर र मूल्यका कारण इमास फाइभ आकर्षण बन्न पुगेको देखिन्छ ।

यी बाहेक लीपमोटर, एमजी, वुलिङ, आइकार, ओमोडा/जेको, हुन्डाई, केई, ओरा लगायत ब्राण्डको स्टलमा पनि अवलोकनकर्ताको बाक्लो भीड देखिन्छ ।


Back_to_top