काठमाडौं । न्यू इनर्जी भेहिकलको बढ्दो प्रभावसँगै मुख्य कच्चा पदार्थ मानिएको हाइ भोल्टेज ब्याट्रीको विभिन्न प्रकार बाहिर आए । अहिले लिथियम आयोन ब्याट्री प्रमुख उत्पादनको रूपमा रहेको छ ।
लिथियम आयोन फस्फेट ब्याट्री नै १० मिनेटभन्दा कम समयमा फुलचार्ज गर्ने पद्दतिको विकास भइसकेको भए पनि सोलिड स्टेट ब्याट्रीको विकाससँगै ईभीको प्रयोग व्यापक हुने विश्वास लिइएको छ । सोलिड स्टेट ब्याट्री उत्पादनमा अहिले चर्चामा रहेका कार उत्पादक र ब्याट्री उत्पादकसँगै नयाँ स्टार्टअप कम्पनीहरू पनि छन् ।
अहिले विश्वभर आफ्नो प्रभाव विस्तार गर्दै आएका कम्पनीहरू मध्ये विभिन्न १४ कम्पनीहरू सोलिड स्टेट ब्याट्रीको खोजमा अग्रणी मानिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै जापानी कार उत्पादकहरूको नाम पहिला आउँछ ।
जापानी अटो उत्पादक टोयोटालाई सोलिड स्टेट ब्याट्रीको प्रमुख खेलाडी मानिन्छ । टोयोटासँगै होण्डा, निसान, पानासोनिक जस्ता जापानी कम्पनीहरू सोलिड स्टेट ब्याट्रीको खोजमा अगाडि देखिएका छन् ।
चिनियाँ ब्याट्री उत्पादक सीएटीएल विश्वकै ठूलो हाइभोल्टेज ब्याट्री निर्माता हो । अस्वभाविक रूपमा ब्याट्री उत्पादनको रेसमा अगाडि हुने नै भयो । सीएटीएलसँगै बीवाइडी र ग्याङफेङ लिथियम नामक कम्पनी पनि सोलिड स्टेट ब्याट्री रेसमा अगाडि छन् ।
दक्षिण कोरियाली ब्राण्ड सामसङ एसडीआइ, एलजी इनर्जी सोलुसन र एसके अन पनि सोलिड स्टेटको रेसमा देखिन्छ ।
अमेरिका र युरोपका ब्याट्री उत्पादक पनि सोलिड स्टेट ब्याट्री बनाउन लागि परेका छन् । खासगरी क्वान्टमस्केप, सोलिड पावर, फ्याक्टोरियल इनर्जी, प्रोलोगम जस्ता कम्पनी सोलिड स्टेट ब्याट्री उत्पादनको रेसमा छन् ।

यी विभिन्न कम्पनीले सोलिड स्टेड ब्याट्री बनाउन प्रविधिक हिसाबले फरक बाटो अपनाएको बुझ्न सकिन्छ । टोयोटाले अहिले परीक्षण गरिरहेको ब्याट्रीको विषयमा ठोस जानकारी बाहिर दिएको छैन । तर, कम्पनीले सन् २०२७ बाट केही मोडलमा सोलिड स्टेट ब्याट्री दिने जनाएको छ ।
बीवाइडीले सल्फाइडमा आधारित सोलिड स्टेट ब्याट्री ल्याउने जनाएको छ । यसको प्याटेन्ट केही दिन अगाडि मात्रै उसले दर्ता गरेको हो । केही उत्पादकले अक्साइड, पोलिमर जस्ता प्रविधि प्रयोग गर्दैछन् ।
व्यवसायिक उत्पादनको बाटोमा टोयोटा
सोलिड स्टेट ब्याट्रीको रेसमा सबैभन्दा अगाडि टोयोटा देखिन्छ । टोयोटाले सन् २०१० देखि नै उक्त ब्याट्रीमा खोज तथा अनुसन्धान गर्दै आएको छ । करिब १७ वर्ष हाराहारीको अनुसन्धानपछि उक्त ब्याट्री उत्पादन थाल्न लागेको टोयोटाले सन् २०२७ बाट ईभीमा प्रयोग गर्ने जनाएको छ ।

कम्पनीका अनुसार उच्च ऊर्जा घनत्व हुने सोलिड स्टेट ब्याट्री १० मिनेट चार्ज गर्दा १००० किलोमिटर गुडाउन मिल्ने किसिमको हुनेछ । अर्को महत्वपूर्ण कुरा टोयोटा सोलिड स्टेट ब्याट्रीमा सर्वाधिक प्याटेन्ट दर्ता गर्ने कम्पनी हो ।
टेक्नोलोजी प्रदर्शनीमा क्वाटमस्केप अगाडि
युरोपियन मोटर उत्पादक फक्वागेन ग्रुपको लगानी रहेको क्वान्टमस्केप सबैभन्दा धेरै टेक्नोलोजी प्रदर्शन गर्ने कम्पनी हो । लिथियम मेटलमा आधारित अल सोलिड स्टेट ब्याट्री डिजाइन गरेको क्वाटमस्केपले बनाउने ब्याट्री उच्च इनर्जी डेनसिटी भएको हुनेछ ।
क्वाटमस्केपले सोलिड स्टेट ब्याट्रीको प्रोटाइप सेल प्रदर्शनी गरिसकेको छ । उसले देखाएको सेललाई धेरैले मनपराएका छन् । तर, उसको उत्पादन बजारमा आउन थप समय लाग्नेछ ।
उत्पादन गर्ने क्षमतामा चिनियाँ अगाडि
चिनियाँ ब्याट्री उत्पादकहरू सीएटीएल र बीवाइडी जस्ता कम्पनी खोजसँगै उत्पादन लाइनअप विस्तार गर्दै गएका छन् । उनीहरूले आफ्नो परीक्षण सफल हुने बित्तिकै ठूलो परिमाणमा ब्याट्री उत्पादन गर्न सक्नेगरी आफूलाई तयार पार्दै लगेका छन् ।


