काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले नयाँ कम्प्याक्ट एसयूभी चीनबाट बिक्री थालेको छ । कम्पनीले केही दिन अगाडि यसको डिटेल बाहिर ल्याएकोमा अहिले १३ हजार ६०० अमेरिकी डलर (झण्डै २० लाख ८० हजार रुपैयाँ) मूल्य तोकेर बिक्री सुरु गरेको हो ।
एमजीका अनुसार यो मूल्य प्रमोशनल मात्रै हो । यसको रेगुलर मूल्य १४ हजार ७०० अमेरिकी डलरबाट सुरु हुन्छ । टप भेरियन्ट किन्दा १७ हजार २०० डलर तिर्नु पर्नेछ ।
एमजीले नयाँ कम्प्याक्ट एसयूभी एमजी फोर एक्सलाई दुई ब्याट्री अप्सनमा ल्याएको छ । जसमा सेमी सोलिड स्टेट ब्याट्री र रेगुलर एलएफपी ब्याट्री अप्सन पाइन्छ । सेमी सोलिड स्टेट ब्याट्री ५३.९ किलोवाट आवरको छ भने, एलएफपी ब्याट्री ६४.२ किलोवाट आवरको छ ।
सीएलटीसी टेस्ट अनुसार सोलिड स्टेट ब्याट्रीले ५१० किलोमिटर रेन्ज दिन्छ । जबकी एलएफपी ब्याट्रीको रेन्ज ६१० किलोमिटर हुनेछ । नेपाली सडक कन्डिसनमा यो रेन्ज फरक पर्छ ।
चीनमा १२५ र १५० किलोवाट क्षमताको दुई मोटर अप्सनमा एमजी फोर एक्स बिक्री सुरु भएको हो । कम्पनीले भेरियन्टको नाम पनि फ्रि र स्मार्ट राखेको छ ।
फ्रि एडिसनमा होराइजन रोबर्टिक जर्नि जे-३ चिप, ५ क्यामेरा र ८ अल्ट्रासोनिक राडार दिएको छ । यसमा एडास लेभल २ ड्राइभिङ एसिस्ट पाउन सकिन्छ ।
स्मार्ट भेरियन्टमा होराइजन रोबर्टिक जर्नी जे-६ई चिप दिइएको छ । साथै, २१ इन्टेलिजेन्ट सेन्सर (६ क्यामेरा, १२ अल्ट्रासोनिक राडार, ३ मिलिमिटर वेभ राडार, हाइ स्पीड पाइलट एसिस्टेन्स, इन्टेलिजेन्ट पार्किङ सहितको लेभल २ प्लस एडास उपलब्ध छ ।

एमजी फोर एक्स एसयूभीको लम्बाइ ४५०० एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा ह्वीलवेस भने २७३५ एमएम लामो पाउन सकिन्छ । १८ इन्चको अलोय ह्वील दिइएको छ ।
गाडीको अप्रोच एङ्गल १८ डिग्री र डिपार्चर एङ्गल २४ डिग्री रहनेछ । समग्र एसयूभीको कर्भ वेट १६४० केजीदेखि १७५५ केजीको बीचमा रहने छ ।
एमजीको नयाँ एसयूभी नेपाली बजारमा आउने मोडलको सूचीमा अग्रस्थानमा आउँछ ।


