ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा

काठमाडौं । ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा हटाएको हो ।

ट्राफिक प्रहरीले आइतबार सवारी साधनमा रहेको कालो सिसा हटाउने अभियान चलाएको छ । हिजो मात्र कालो सिसा लगाउने ५७ सवारीलाई कारबाही गरेको थियो ।

ट्राफिकको कालो सिसा हटाउने अभियानलाई साथ दिँदै गृहमन्त्री गुरुङ आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो ।

प्रहरीका अनुसार कालोसिसाको प्रयोगले गाडीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले साना हतियार, लागुऔषध ओसारपसार, फरार अपराधी तथा विभिन्न आपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाइएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारी साधनको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुनेगरी कुनै पनि प्रकारको हेरफेर गर्न नपाइने व्यवस्था छ ।


Back_to_top