नयाँ ईभीको ओइरो लाग्दै, स्कीम र छुट कुर्दै उपभोक्ता

काठमाडौं । नेपालको विद्युतीय सवारी (ईभी) बजार अर्को चरणको प्रतिस्पर्धामा प्रवेश गर्ने भएको छ । नयाँ-नयाँ ब्रान्ड भित्रिनुका साथै स्थापित कम्पनीहरूले पनि नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेपछि ईभी खरिद गर्ने उपभोक्ताका लागि विकल्प झन् फराकिलो बन्ने भएको हो ।

आगामी साउन र भदौमा आयोजना हुने दुई ठूला अटो प्रदर्शनीलाई लक्षित गर्दै विभिन्न कम्पनीहरूले दर्जनौं नयाँ विद्युतीय कार सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । विशेषगरी ३० लाखदेखि ५० लाख रुपैयाँ मूल्य समूहमा सबैभन्दा बढी प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

हाल नेपाली बजारमा करिब ३० लाखदेखि ८० लाख रुपैयाँसम्म मूल्यका ईभीहरू धेरै उपलब्ध छन् । तर, प्रिमियम सेग्मेन्टका मोडलको मूल्य विस्तारै १ करोड रुपैयाँ माथि पुग्न थालेपछि अधिकांश आयातकर्ता मध्यम मूल्य समूहमा केन्द्रित भएका छन्।

३०-४० लाख रुपैयाँमा सबैभन्दा ठूलो भिडन्त

आगामी महिनादेखि ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहमा मात्रै आधा दर्जन नयाँ मोडल थपिने तयारी छ। यो सेग्मेन्टमा वुलिङ विङ्गो, टाटा पन्च ईभी, आरफक्स टी-वान, प्रोटोन इमास फाइभ र चेरी क्यूक्यू-थ्री लगायतका मोडल बजारमा प्रवेश गर्दैछन् ।

कम मूल्यमा राम्रो रेन्ज र आधुनिक फिचर खोज्ने ग्राहकलाई लक्षित गरेर यी मोडल ल्याउन लागेकाले यो सेग्मेन्ट सबैभन्दा प्रतिस्पर्धी बन्ने अनुमान गरिएको छ।

४०-५० लाखको सेग्मेन्ट पनि थप तातिँदै

अहिलेसम्म सबैभन्दा धेरै एसयूभी बिक्री हुने मूल्य समूह मानिएको ४० देखि ५० लाख रुपैयाँको सेग्मेन्टमा पनि नयाँ प्रतिस्पर्धी थपिने भएका छन् । अहिले नै यो सेग्मेन्टमा बीवाइडी एटो टु, एमजी एस फाइभ, नामी भिगो र ओमोडा ईफाइभले कडा प्रतिस्पर्धा गरिरहेका छन् ।

 

त्यसमा ओमोडा ओ फोर, चांगान निभो क्यू-०५ र लीपमोटर ए-१० जस्ता नयाँ मोडल यही मूल्य समूहमा आउने तयारीमा छन् । यसअघि नै धेरै विकल्प रहेको यो सेग्मेन्ट नयाँ प्रवेशसँगै झनै प्रतिस्पर्धी बन्ने देखिएको हो ।

५० लाखमाथि पनि नयाँ विकल्प

५० देखि ७० लाख रुपैयाँ मूल्य समूहमा पनि नयाँ ईभी सार्वजनिक हुने क्रम जारी रहने छ। यसमा टाटा सियरा ईभी, वुलिङ एक्सियन र एमजी स्टारलाइन जस्ता मोडल बजारमा आउने तयारीमा छन्।

त्यसभन्दा माथिको प्रिमियम सेग्मेन्टमा पनि अवतार-०७, जिकर ७ एक्स, बीवाइडी एटो ३ र आइकार भी-२७ जस्ता नयाँ मोडल सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ।

मूल्यमा ‘प्राइस वार’ हुने संकेत

आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो र त्यसलगत्तै हुने नाडा अटो शो लाई लक्षित गर्दै अधिकांश कम्पनीले आक्रामक मूल्य निर्धारण गर्ने तयारी गरेका छन् । यसअघि मूल्य घटाउने प्रतिस्पर्धा चलेकोमा यस पटक नयाँ कारको मूल्य आक्रमक राख्ने रणनीतिमा बिक्रेताहरु देखिएका छन् ।

बजारमा एकैपटक धेरै ब्रान्ड र नयाँ मोडल आउने भएपछि बजार हिस्सा बढाउन कम्पनीहरूबीच मूल्य प्रतिस्पर्धा चर्किने अपेक्षा गरिएको छ।

‘२० लाखदेखि ७० लाख रुपैयाँसम्मको सेग्मेन्टमा यसपटक निकै ठूलो प्रतिस्पर्धा हुनेछ । बजार हिस्सा बढाउने होडमा कम्पनीहरू कम नाफामै गाडी बिक्री गर्न तयार देखिएका छन् । यसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउनेछन् । तर, मूल्य घटाउने प्रतिस्पर्धामा बिक्रीपछिको सेवा कमजोर हुने जोखिम पनि रहन्छ’, एक आयातकर्ताले भने ।

विश्लेषकहरूका अनुसार यसपटक कम्पनीहरूलाई उच्च ‘ग्रस मार्जिन’मा काम गर्ने अवसर कम हुनेछ। प्रतिस्पर्धाले अन्ततः उपभोक्तालाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ।

अटो शो पर्खिरहेका छन् उपभोक्ता

साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना हुँदैछ। उक्त प्रदर्शनीमा करिब दुई दर्जन चारपाङ्ग्रे ब्राण्ड सहभागी हुनेछन्।

एमजी, टाटा, ओमोडा, आइकार, हुन्डाई, केई, आरफक्स, महिन्द्रा, टोयोटा, किया, लीपमोटर, प्रोटोन इमास, जिकर, निसान र वुलिङसहित अधिकांश ब्राण्डले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्। आयोजकका अनुसार केही नयाँ ब्राण्डले पनि नाम सार्वजनिक नगरी स्टल बुक गरिसकेका छन्।

यी कम्पनीहरूले नयाँ मोडलसँगै आकर्षक छुट, फाइनान्सिङ सुविधा र एक्सचेन्ज अफर पनि ल्याउने तयारी गरेका छन् । विगतका वर्षझैँ अटो शोबाट सुरू हुने योजना दशैं-तिहारसम्म निरन्तर रहने अपेक्षा गरिएको छ ।

नाइमा एक्स्पो सकिएको केही सातापछि भदौ ९ गतेदेखि नाडा अटो शो पनि भृकुटीमण्डपमै आयोजना हुनेछ । त्यहाँ पनि करिब १७-१८ चारपाङ्ग्रे ब्राण्ड सहभागी हुनेछन् ।

यसकारण अहिले धेरै उपभोक्ता गाडी खरिदको निर्णय केही साताका लागि स्थगित गर्दै अटो शोको प्रतीक्षामा छन् । विगतका वर्षहरूमा जस्तै यसपटक पनि उत्कृष्ट अफर, नयाँ मोडल र प्रतिस्पर्धी मूल्यको अपेक्षाले अधिकांश ग्राहक अटो शो कुर्ने मनस्थितिमा देखिएका छन्।


Back_to_top