काठमाडौं । चिनियाँ प्रिमियम अटो ब्राण्ड एक्सपेङले आफ्नो इन्ट्री लेभल एसयूभी ‘मोना एल ०३’ बिहीबार (जुलाइ १६)मा विश्व बजारमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले सोमबार चिनियाँ सामाजिक संजाल वेइबो मार्फत मोना एल०३ जुलाई १६ मा जर्मनीको म्युनिखमा लन्च गर्ने समय तालिका सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो एसयूभी एकैपटक चीन र युरोपमा बिक्री सुरू हुनेछ । चीन र युरोपेली बजारमा एकैसाथ बिक्री खुला गरिने एक्सपेङको यो पहिलो विश्वव्यापी मोडल समेत हो ।
कम्पनीले जुलाइ २ देखि चीनमा मोना एल०३ को प्रि सेल्स सुरू गरेको थियो । यसको मूल्य २१ हजार २०० अमेरिकी डलरदेखि सुरू हुन्छ । एक्सपेङले यस मोडललाई युवा उपभोक्ता र पारिवारिक प्रयोगकर्ताहरूलाई लक्षित गर्दै स्टाइलिस एसयूभीको रूपमा प्रस्तुत गरेको छ ।
एक्सपेङले मोना एल०३ लाई विश्वव्यापी मापदण्ड अनुसार विकसित गरिएको र यसलाई ६४ वटा देशमा लैजाने योजना बनाएको छ ।

मोना एल ०३ प्योर ईभी र ईआरईभी दुवै विकल्पमा उपलब्ध गराएको छ । यो एसयूभीमा लक्ससेयर प्रिसिजन टेक्नोलोजीले बनाएको १८३ किलोवाटको सिंगल इलेक्ट्रीक मोटर छ । यसमा रहेको एलएफपी ब्याट्रीले ५२५ देखि ६२५ किलोमिटरसम्मको रेन्ज दिनेछ । यसले थ्री सी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले मात्र १९.१ मिनेटमा १० प्रतिशतबाटबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ।
ईआरईभी लामो दूरी तय गर्न चाहनेहरूका लागि यो मोडल उपयुक्त छ । जसको कुल रेन्ज १,३३० किलोमिटरसम्म रहेको छ । प्योर इलेक्ट्रीक रेन्ज ३१५ किमी रहेको छ । यसले मात्र ६.८ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ।
एल ०३ टी आकारको हेडलाइट र सुव्यवस्थित मोनाको डिजाइन शैलीलाई पछ्याएको छ। यसको पछाडिको भाग कुपे एसयूभी जस्तो देखिन्छ । अगाडिको बम्परमा एक्टिभ ग्रिल छ भने पछाडिको भागमा नयाँ फुल विथ टेललाइट छ। यसमा प्यानोरामिक ग्लास रूफ, सेमि हिडन डोर ह्याण्डलहरू र वरिपरि धेरै क्यामेराहरू छन्।
सबै मोनाक एल०३ भेरियन्टहरू एक्सपेङको आफ्नै लगानीमा विकसित ट्युरिङ एआई चिपद्वारा सुसज्जित छन् । जसको कम्प्युटिङ क्षमता १५०० टप्स सम्म छ । यसले दोस्रो पुस्ताकोभीएलए प्रणालीलाई सपोर्ट गर्छ ।
यसमा वैकल्पिक उपकरणका रूपमा विभिन्न क्यामेरा, फेन्डर ट्रिम, साइड भ्यू क्यामेरा, रियर स्पोइलर र विभिन्न डिजाइनका ह्वीलहरू उपलब्ध हुनेछन् । यसमा एक्सपेङको भिजन आधारित ड्राइभर असिस्टेन्स प्रणाली र अर्बन एसिस्टेड ड्राइभिङ अपेक्षा गरिएको छ ।
युरोपियन बजारमा बिक्री हुने भएपछि मोना एसयूभी नेपाली बजारमा पनि आउने छ । यसअघि पनि एक्सपेङले बेलायतमा बिक्री गर्दै आएको ‘एक्सपेङ जी सिक्स’ मोडल नेपालमा पनि उपलब्ध गराउँदै आएको छ । एक्सपेङका उत्पादन सीजी मोटर्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ ।


