काठमाडौं । जापानी अटोमोबाइल निर्माता टोयोटाको चर्चित एमपीभी इनोभा हाइक्रसको फेसलिफ्ट मोडल सडक परीक्षणको क्रममा देखिएको छ ।
कम्पनीले भारतको सडकमा फेसलिफ्ट इनोभाको परीक्षण गरिरहेको स्पाइ तस्बिर बाहिरिएको हो । कम्पनीले नयाँ इनोभा हाइक्रसलाई पूरै क्यामोफ्लाजले ढाकेर परीक्षण गरे पनि यसमा गरिएका धेरै बाह्य र आन्तरिक परिवर्तनहरू स्पष्ट रूपमा अनुमान गर्न सकिन्छ ।
फेसलिफ्ट इनोभा हाइक्रसको अगाडि रिडिजाइन गरिएको आकर्षक ग्रिल, परिमार्जित बम्पर, अझ पातलो देखिने एलईडी हेडल्याम्प र नयाँ डिजाइनको डीआरएल हुने अपेक्षा गरिएको छ ।
यसको विन्डो लाइन र बडी प्रोफाइल पहिलेको जस्तै देखिए पनि केही बनोटहरूलाई अझ प्रिमियम बनाइएको छ । ओआरभीएम र एलोय ह्वीलको डिजाइन भने हालको मोडेल जस्तै देखिन्छ। यसको पछाडि नयाँ एलईडी टेल ल्याम्प र नयाँ डिजाइनको बम्पर प्रयोग गरिने छ ।

नयाँ इभनोभाको टप भेरियन्टहरमा अद्यावधिक गरिएको इन्फोटेनमेन्ट इन्टरफेस, नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर, संशोधित अपहोल्स्ट्री र थप सफ्ट टच सामग्रीहरू प्राउने स्म्भावना छ । यसमा प्यानोरामिक सनरुफ, पावरयुक्त ओटोमन क्याप्टेन सिट, भेन्टिलेटेड अगाडिका सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, पावरयुक्त टेलगेट, वायरलेस चार्जर र प्रिमियम जेबीएल अडियो जस्ता फिचरलाई निरन्तरता दिँदै नयाँ कनेक्टेड कार सुविधा थप्नेछ ।
यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबीडी र भेहिकल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर, लेभल २ एडास लगायत फिचर छन् ।
फेसलिफ्ट इनोभा हाइक्रसको पावर ट्रेनमा भने कुनै ठूलो परिवर्तन हुने सम्भावना छैन । हालकै दुईवटा इन्जिन विकल्पलाई निरन्तरता दिनेछ । इनोभा हाइक्रसमा २.० लिटर पेट्रोल र २।० लिटर स्ट्रङ हाइब्रिड छ । जसमा पेट्रोल इन्जिनले १७३ हर्सपावर र २०९ एनएम टर्क उत्पन्न गर्छ । यसमा सीभीटी अटोमेटिक ट्रान्समिसन छ ।
त्यस्तै, २.० लिटरको स्ट्रङ हाइब्रिड इन्जिनले १८४ हर्सपावरको संयुक्त शक्ति दिन्छ । यसले प्रतिलिटर २३.२४ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ ।


