ब्याज सस्तो भएको मौकामा धमाधम गाडी किन्दै, लिए ८ वर्ष यताकै धेरै ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर सवारी साधन खरिद गर्ने ह्वात्तै बढेका छन् । अहिले बैंकको ब्याजदर इतिहासकै सस्तो भएको र सहजै कर्जा पाइने अवस्था रहेकाले धमाधम ऋण लिएर गाडी किन्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवमा ८ वर्ष यताकै धेरै हायर पर्चेज कर्जा प्रवाह भएको हो । आव २०७४/७५ मा एकै वर्षमा २१ अर्ब हायर पर्चेज कर्जा प्रवाह भएको थियो । चालु आवकाे ११ महिनामा (साउन-जेठ)बैंक तथा वित्तीय संस्थाहरूले १३ अर्ब २२ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब २८ अर्ब ६९ करोड हायर पर्चेज कर्जा लगानी गरेकोमा चालु आवकाे जेठ मसान्त आइपुग्दा बढेर १ खर्ब ४१ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो ।

चालु आवमा हायर पर्चेज कर्जा लगानी वृद्धिदर १०.३ प्रतिशतले बढेको हो । यो औसत कर्जा लगानी वृद्धिदरभन्दा धेरै हो । चालु आवमा समग्र कर्जाको वृद्धिदर ५.८ प्रतिशत मात्रै छ ।

चालु आवमा व्यक्तिगत (प्यासेन्जर) र कमर्शियल दुवै प्रयोजनका लागि प्रदान हुने कर्जा लगानी बढेको छ । ११ महिनामा कमर्शियल कर्जा लगानी ११.३ प्रतिशत र व्यक्तिगत ८.२ प्रतिशतले बढेको छ । अर्थात् ११ महिनामा कमर्शियल सवारी किन्न ९ अर्ब ७० करोड ३४ लाख रुपैयाँ र व्यक्तिगत सवारी किन्न ३ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ कर्जा प्रदान भएको छ ।

जेठ मसान्तसम्म कमर्शियल सवारीमा कुल ९५ अर्ब ८१ करोड र व्यक्तिगत सवारीमा ४६ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी भएको छ ।

पछिल्लो समय सवारी साधनको माग र बिक्री बढ्न थालेसँगै हायर पर्चेज कर्जा लगानी पनि बढेको हो । अहिले बैंकको ब्याजदर इतिहासकै तल्लो बिन्दुमा छ । बैंकहरूको औसत बेसरेट ५ प्रतिशत हाराहारीमा छ । केही बैंकले न्यूनतम ०.५/१ प्रतिशत मात्रै प्रिमियम जोडेर मात्रै पनि कर्जा दिइरहेका छन् ।

गाडी किन्न बैंकबाट ६/६.५ प्रतिशत ब्याजदरमै ऋण पाउने अवस्था छ । त्यसैले गाडी किन्ने योजनामा रहेकाहरू सस्तो ब्याजदर भएको मौका छोपी धमाधम ऋण लिएर सवारी किन्न थालेको देखिन्छ । बैंकहरूले पनि ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदरको कर्जा योजना ल्याइरहेका छन् । केही बैंकले ६ प्रतिशतभन्दा कम ब्याजदरको स्कीम समेत ल्याएको छन् ।

विगत ३ वर्षदेखि आर्थिक शिथिलता कायमै रहँदा कृषि, उत्पादनमूलक, औद्योगिक क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । शिथिलताका बाबजूद अटो, सेयर लगायत क्षेत्रमा भने कर्जाको माग छ । यस्तोमा बैंकहरूले यी क्षेत्रमा धमाधम कर्जा विस्तार गरिरहेका छन् । साथै, बैंकहरूले ग्राहक तान्न सस्तो ब्याजदरको आकर्षक सवारी कर्जा समेत ल्याइरहेका छन् ।

बैंकहरूले सवारी कर्जा ७ वर्षसम्मका लागि प्रवाह गर्छन् । व्यवसाय खुम्चिएको बेलामा दीर्घकालीन ऋण प्रवाह गर्दा समग्रमा फाइदा पुग्ने भएकाले अहिले सस्तो ब्याजदरमै भए पनि कर्जा लगानी गरेका हुन् ।

कुन वर्ष कति कर्जा प्रवाह ?

राष्ट्र बैंकको तथ्यांक अनुसार आव २०७४/७५ मा सबैभन्दा धेरै २१ अर्ब हायर पर्चेज कर्जा लगानी भएको थियो । सो बेला कुल हायर पर्चेज कर्जा लगानी १ खर्ब पुगेको थियो ।

त्यस्तै आव २०७५/७६ मा ९ अर्ब ९२ करोड कर्जा लगानी भएकोमा आव २०७६/७७ मा ६ अर्ब ८९ करोड रुपैयाँ घटेको थियो ।

त्यस्तै, आव २०७७/७८ र २०७८/७९ मा हायर पर्चेज कर्जा लगानी क्रमशः १३ अर्ब ३९ करोड र ३ अर्ब ५० करोड रुपैयाँले घटेको थियो । आव २०७९/८० मा २ अर्ब४ करोड कर्जा प्रवाह भएकोमा आव २०८०/८१ मा वर्ष दिनमै ३५ अर्ब १० करोडले घटेको थियो । राष्ट्र बैंकको कडाइले कारण हायर पर्चेज कर्जा लगानी घटेको थियो ।

पछिल्ला २ आवमा भने हायर पर्चेज कर्जा लगानी क्रमशः बढिरहेको छ । अघिल्लो आव २०८१/८२ मा ४ अर्ब ५९ करोडले बढेको हायर पर्चेज कर्जा लगानी चालु आवको ११ महिनामा १३ अर्ब २२ करोड बढेको हो ।


Back_to_top