बजारमा आउँदै हिरोको प्रिमियम स्पोर्टस् बाइक करिज्मा XMR 250

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो बहुप्रतिक्षित स्पोट्र्स मोटरसाइकल करिज्मा एक्सएमआर २५० सार्वजनिक गर्ने तयारी थालेको छ ।

कम्पनीले सन् २०२४ को इक्मा अटोशो र भारत मोबिलिटी एक्स्पो २०२५ मा ग्लोबल डेब्यू गराइएको एक्सएमआर २५० चाँडै भारतीय बजारमा लन्च गर्ने भएको हो ।

यो मोटरसाइकल भारतमा हिरोको डिलरशिप र सर्भिस सेन्टरमा क्यामोफ्लाजबिना देखिएकाले लन्चको तयारी अन्तिम चरणमा पुगेको बुझिन्छ । मिडिया रिपोर्ट अनुसार कम्पनीले डिलरस्तरको तालिम कार्यक्रम सुरू गरिसकेकाले छिट्टै यसको आधिकारिक बिक्री सुरू हुने संकेत देखाएको हो ।

करिज्मा ब्ल्याक र रेड कलर स्किममा देखिएको छ। मोटरसाइकलको अगाडिको भागमा ठूलो विन्डस्क्रीन, बीचमा प्रोजेक्टर एलईडी हेडल्याम्प तथा त्यसको दाँयाबाँया आक्रामक डिजाइनका ट्विन एलईडी डीआरएल प्रदान गरिएको छ । साथै, फेयरिङमा इन्टिग्रेटेड विङलेट्स, स्लिक एलईडी टर्न इण्डिकेटर, गोल्डेन फिनिसको अपसाइड डाउन यूएसडी फ्रन्ट फोक्र्स छ । यसको स्पोर्टी लुकलाई थप आकर्षक र प्रिमियम बनाएको छ ।

मोटरसाइकलको साइड प्रोफाइलमा मस्कुलर फ्युल ट्यांक ठूलो एक्सएमआर ग्राफिक्ससहितको स्कल्प्टेड फेयरिङ, क्लिपअन ह्याण्डलबार र स्प्लिट सिट प्रदान गरिएको छ । यसको राइडिङ पोजिसन स्पोर्टी भए पनि दैनिक प्रयोग र लामो दूरीको यात्रालाई समेत ध्यानमा राखेर तयार गरिएको देखिन्छ ।

पछाडिको भागमा एलईडी टेलल्याम्प, स्लिक टेल सेक्शन, स्प्लीट ग्राब रेल, प्रिलोड एड्जस्टेबल रियर मोनोसक, रोड ओरियन्टेड टायरसहितको अलोय ह्विल र कम्प्याक्ट एग्जस्ट डिजाइनलाई यथावत राखिएको छ ।

ट्रेलिस फ्रेममा आधारित यो मोटरसाइकलमा पूरा एलईडी लाइटिङ सिस्टम, ब्लुटुथ कनेक्टिभिटी सहितको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टर्न बाई टर्न नेभिगेसन, ल्याप टाइमर, ड्र्याग टाइमर, एड्जस्टेबल क्लिप अन ह्याण्डलबार, स्प्लीट सिट, यूएसबी चार्जिङ पोर्ट, स्विचेवल एबीएस सिस्टम लगायत फिचरहरू हुने सम्भावना रहेको छ ।

एक्सएमआर २५० मा हिरोको नयाँ २४९ सीसी, सिंगल सिलिण्डर, डीओएचसी, लिक्विड कुल्ड, एफआई इन्जिन प्रयोग गरिएको छ, जुन हालै सार्वजनिक भएको एक्स्ट्रीम २५० आरमा पनि उपलब्ध छ । यो इन्जिनले अधिकतम ३० पीएस पावर र २५ एनएम पिक टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड गियरबक्स छ ।

हिरो मोटोकर्पले हालै सन् २०२६–२७ को अवधिमा १५० सीसीदेखि ३५० सीसी सेग्मेन्टमा हिरो तथा हार्ले ब्रान्डअन्तर्गत थुप्रै प्रिमियम मोटरसाइकल सार्वजनिक गर्ने योजना घोषणा गरेको थियो । सोहि अन्तर्गत मध्यको एक करिज्मा एक्सएमआर २५० मोडल हो ।


Back_to_top