काठमाडौं । भारतीय अटोमोबाइल बजारमा आफ्नो बलियो उपस्थिति बनाउँदै गएको जेएसडब्ल्यू एमजी मोटर इन्डियाले भविष्यका सवारी साधनका लागि एक क्रान्तिकारी प्रविधि सार्वजनिक गरेको छ।
कम्पनीले एडभान्स ड्राइभ आर्किटेक्चर प्लेटफर्म टेक्नोलोजी (एडाप्ट) सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो प्रविधि भारतकै पहिलो मोड्युलर आर्किटेक्चर हो ।
यसमा एउटै साझा इन्जिनियरिङ प्लेटफर्ममा चार फरक प्रविधि ब्याट्री इलेक्ट्रीक, हाइब्रिड इलेक्ट्रीक, प्लग इन हाइब्रिड इलेक्ट्रीक र रेन्ज एक्सटेन्डर इलेक्ट्रीक सवारी उत्पादन गर्न सकिन्छ ।
फरक फरक संचालन प्रणालीका लागि छुट्टाछुट्टै आर्किटेक्चर विकास गर्नुको सट्टा एमजीले एडाप्टलाई एउटै मोड्युलरको रुपमा विकास गरेको हो । यसले एमजीका भविष्यका उत्पादनहरूले साझा इन्जिनियरिङ प्रयोग गर्न पाउने छन् र ग्राहकका फरक फरक आवश्यकताहरूलाई पनि पूरा गर्ने छन्।
एमजीले एडाप्ट प्रविधिमा धेरै वटा विश्वस्तरीय इन्जिनियरिङ फिचरहरू एकीकृत गरेको छ । भारतमै पहिलो पटक १० इन १ इलक्ट्रिीक ड्राइभ युनिट प्रयोग गरेको छ । यो कम्प्याक्ट युनिटले १० वटा फरक फरक विद्युतीय पार्टपुर्जाहरूलाई एउटै ठाउँमा समेट्छ । जसले गर्दा गाडी भित्र ठाउँको बचत हुनुका साथै कार्यक्षमता र शक्ति बढ्छ।
एमजीले दाबी गरे अनुसार विश्वकै पहिलो ‘इलेक्ट्रोम्याग्नेटिक डेडिकेटेड हाइब्रिड ट्रान्समिसन’ समावेश गरिएको छ। यो सानो ड्राइभ युनिटले धेरै इलेक्ट्रीक पार्टपुर्जाहरूलाई एउटै एसेम्बलीमा समेट्छ । जसले गर्दा ठाउँ कम खपत हुन्छ र कार्यक्षमता बढ्छ।
यसको विशेष हाइब्रिड इन्जिन पनि विद्युतीय प्रयोगलाई नै ध्यानमा राखेर विकास गरिएको हो । जसले थर्मल दक्षता र कम इन्धन खपतमा जोड दिन्छ।
सडकको अवस्था र आवश्यकता अनुसार गाडी आफैँले निर्णय लिन सक्ने गरी यसमा इन्टेलिजेन्ट एनर्जी म्यानेजमेन्ट सिस्टम राखिएको छ। यसले स्वचालित रूपमा चार ड्राइभिङ रणनीतिहरू मध्ये उत्कृष्ट विकल्प छनोट गर्छ ।
पहिलो, प्योर इलेक्ट्रिक ड्राइभमा कम गतिमा गाडी गुड्दा इन्धन शून्य खपत गर्दै केवल ब्याट्रीको पावरमा चल्छ। दोस्रोे सिरिज हाइब्रिड ड्राइभमा पेट्रोल इन्जिनले सिधै पाङ्ग्रा घुमाउँदैन, बरु केवल इलेक्ट्रीक मोटरका लागि बिजुली उत्पादन गर्ने जेनेरेटरको काम गर्छ।
तेस्रो, प्यारालेल हाइब्रिड ड्राइभमा तीव्र गति वा उकालोमा बढी शक्तिको आवश्यकता पर्दा पेट्रोल इन्जिन र ब्याट्री दुवैले एकैसाथ पावर दिन्छन् । र, चौथो, इन्जिन डाइरेक्ट ड्राइभमा राजमार्गमा एकनासले गाडी गुड्दा इन्धन जोगाउन पेट्रोल इन्जिनले सिधै गाडी गुडाउँछ ।
नयाँ आर्किटेक्चरले नयाँ गाडीहरूको अनुसन्धान र उत्पादन प्रक्रियालाई निकै छोटो बनाउने कम्पनीको भनाइ छ। एउटै साझा इन्जिनियरिङ आधार हुने भएकाले आगामी दिनमा आउने गाडीहरूको रेन्ज, चार्जिङ क्षमता, गाडीको स्थायित्व, सुरक्षा र प्रविधिमा उल्लेख्य सुधार आउने दाबी एमजी मोटरले गरेको छ ।
यही वर्षको अन्त्यसम्म बजारमा आउने
कम्पनीका अनुसार यो नयाँ आर्किटेक्चरमा आधारित दुई वटा गाडी आर्थिक वर्ष २०२६/२७ अन्त्य अगावै बजारमा आउने छन् । कम्पनीले एडाप्ट प्लेटफर्ममा पहिलो ‘प्लग इन हाइब्रिड’ एसयूभी र अर्को एक नयाँ ब्याट्री इलेक्ट्रीक गाडी बजारमा ल्याउने छ । एमजीले हालै बजारमा ल्याएको ‘विन्डसर ईभी’को भव्य सफलतापछि आफ्नो विद्युतीय पोर्टफोलियोलाई थप बलियो बनाउन नयाँ मोडल ल्याउने भएको हो ।
सबैभन्दा पहिले बजारमा आउने प्लगइन हाइब्रिड एसयूभी विदेशमा चर्चित रहेको ‘वुलिङ स्टारलाइट ५६० मोडलमा आधारित हुने अनुमान गरिएको छ । यसमा पेट्रोल इन्जिनका साथै ठूलो क्षमताको ब्याट्री प्याक हुनेछ । जसले सुरुवाती अवस्थामा लामो दूरीसम्म केवल प्योर इलेक्ट्रीकबाटै गाडी गुडाउन मद्दत गर्नेछ ।


