नेपालमा यही महिना लन्च हुँदै ४ नयाँ इलेक्ट्रीक स्कुटर, रेन्ज १६५ किमीसम्म

काठमाडौं । साउन महिना नेपाली अटो क्षेत्रमा दर्जनौं नयाँ मोडलका सवारी साधन बिक्री सुरू भएका छन् । चारपाँग्रे र दुईपाँग्रे गरी २ दर्जन बढी नयाँ मोडल लन्च हुने भएका हुन् ।

साउन २६ गते आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो र सो अगावै नयाँ मोडल बिक्री सुरू हुँदैछन् । जसमा यो महिना इण्डिया मेड ४ वटा नयाँ इलेक्ट्रीक स्कुटर पनि बिक्री सुरू हुने भएका छन् ।

साउनमा नेपाली बजारमा बजाज चेतक, टीभीएस र भिडा ब्राण्डका नयँँ इलेक्ट्रीक स्कुटर बिक्री सुरू हुने भएका हुन् ।

नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चेतक सी २५०१ र सी ३५०३ मोडल बिक्री सुरू गर्दैछ । कम्पनीले हाल चेतक ३५०१ बिक्री गरिरहेको छ ।

त्यस्तै, टीभीएसको अर्बिटर स्कुटर बिक्री सुरू हुँदैछ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा दोस्रो ईभी मोडलको रूपमा अर्बिटर इलेक्ट्रीक स्कुटर लन्च गर्न लागेको हो । कम्पनीले हाल टीभीएसको आइक्युब मोडल बिक्री गर्दै आएको छ ।

साउनमा नयाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड भिडा नेपाल प्रवेश गर्दैछ । नेपालका लागि भिडाको आधिकारिक बिक्रेता सीजी मोटर्सले आफ्नो पहिलो इलेक्ट्रीक मोडलको रूपमा भिडा भी २ लन्च गर्दैछ ।

यी ब्राण्डले आफ्नो नयाँ स्कुटर लन्च गर्ने आधिकारिक मिति घोषणा गरेका छैनन् । तर, सबैले नाइमामा आफ्नो प्रोडक्ट लन्च गर्ने तयारी गरिरहेको बुझिन्छ ।

कस्ता छन् नेपाल आउने इलेक्ट्रीक स्कुटर

चेतक सी २५०१

याे स्कुटर तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हाे । कम्पनीले यसलाई पूरै नयाँ चेसिस फ्रेममा तयार पारेको छ ।

यसमा एलईडी डीआरएल, फ्ल्याट फुटबोर्ड र यू आकारको एलईडी टेललाइटका साथै गोलाकार एलईडी हेडल्याम्प रहेको छ । यो मोडलको तौल मात्र १०७ किलोग्राम छ । यसमो सिट मुनि २५ लिटर क्षमताको स्टोरेज पाइन्छ।

चेतक सी २५०१ मा एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, यूएसबी चार्जिङ पोर्ट, हिल होल्ड असिस्ट, रिभर्स, इको र स्पोर्ट मोड दिइएको छ ।

कम्पनीले यसमा २.५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले एक पटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड प्रतिघण्टा ६० किलोमिटर रहेको छ । यो स्कुटर ४ घण्टामा फुल चार्ज हुनेछ ।

चेतक सी ३५०३

याे चेतककाे प्रिमियम प्रिमियम इलेक्ट्रीक स्कुटर हो। यसमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा १५३ किलोमिटरसम्म रेन्ज दिने आईडीसीले प्रमाणित गरेको छ । यसको टप स्पीड प्रतिघण्टा ७० किमी रहेको छ ।

यसमा ३५ लिटरको ठूलो बुट स्पेस, कलर एलसीडी डिस्प्ले, फुल मेटल बडी, हिल होल्ड असिस्ट, इको र स्पोर्ट राइड मोड, ब्लुटुथ कनेक्टिभिटी, कल तथा नोटिफिकेसन, म्युजिक कन्ट्रोल, रिभर्स मोड, कम्बाइन्ड ब्रेकिङ सिस्टम लगायत फिचर छन् ।

अर्बिटर

टीभीएसको दोस्रो मोडलको रूपमा आउने टीभीएस अर्बिटर भारतमा १.८ किलोवाट आवर र ३.१ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा बिक्री भइरहेको छ । नेपालमा दुवै भेरियन्ट आउँछ वा एउटा मात्रै आउँछ भन्ने बारे हालसम्म कम्पनीले खुलाएको छैन ।

टीभीएसको अर्बिटर १.८ किलोवाट आवर ब्याट्रीप्याक भेरियन्टले सिंगल चार्जमा ८६ किलोमिटर र ३.१ किलोवाट आवर भेरियन्टले १५८ किलोमिटरसम्मको आइडीसी रेन्छ प्रदान गर्ने छ । स्कुटरमा दिइएको आइपी ६७ रेटेड ब्याट्रीलाई फुलचार्ज हुन करिब २ घण्टा २० मिनेट र ४ घण्टा १० मिनेट समय लाग्छ ।

स्कुटरमा २.५ किलोवाटको बीएलडीसी रियर हब मोटर जडान गरिएको छ । यसको टप स्पीड क्षमता ६८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

अर्बिटरमा टीभीएस कनेक्ट एप सहितको कलरफुल एलसीडी डिजिटल डिस्प्ले, पूरा एलईडी लाइट सेटअप, एलईडी डीआरएल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, लाइभ लोकेसन, ओटीए अपडेट, हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ टेक्नोलोजी, मोटर कटअफ टेक्नोलोजी, राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट, यूएसबी पोर्ट लगायतका फिचरहरू छन् ।

साथै, १६५ एमएम ग्राउण्ड क्लियरेन्स भएको स्कुटरमा पूरा फ्ल्याट सिट, अलोय ह्वील, फ्ल्याट फ्लोरबोर्ड, ३४ लिटरको बुट स्पेस, ट्युबलेस टायर, ड्रम ब्रेक, टेलिस्कोपिक फ्रन्ट र रियर डुअल सक सेटअप दिइएको छ ।

भीडा भी २

नयाँ ब्राण्डको रूपमा प्रवेश गर्न लागेको भिडा २ भारतमा ३ ब्याट्री अप्सनमा उपलब्ध छ । नेपालमा तिनै भेरियन्ट आउँछ वा एउटा मात्रै आउँछ भन्ने खुलाइएको छैन् ।

भिडा २ मा भेरियन्ट अनुसार २.२ किलोवाट आवर, ३.४४ किलोवाट आबर र ३.९४ किलोवाट आवर क्षमताको ब्याट्री अप्सन उपलब्ध हुनेछ । तीन भेरियन्टको रेन्ज पनि क्रमशः ९४ किलोमिटर, १४३ किलोमिटर र १६५ किलोमिटर रहने आईडीसीको परीक्षणले देखाएको छ ।

भिडा २ स्कुटरको बेस भेरियन्टदेखिनै दुई राइड मोड पाउन सकिन्छ । ७ इन्चको टीएफटी डिस्प्ले, की लेस फंक्शन, एलईडी लाइटिङ, रिजनरेटिभ ब्रेकिङजस्ता फिचरहरू यसका आकर्षण हुन् ।

हाल नेपालमा भारतीय ब्राण्डका करिब आधा दर्जन मोडल बिक्री भइरहेका छन् । नयाँ मोडल थपिएसँगै ग्राहकले थप अप्सन पाउने र प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ ।


Back_to_top