भिडाको नयाँ इलेक्ट्रीक बाइक नेपाल आउँदै

काठमाडौं । भीडाको नयाँ इलेक्ट्रीक बाइक डर्ट-ई के३ नेपाल आउने भएको छ । हिरोको इलेक्ट्रीक ब्राण्ड अन्तर्गतको भीडा कम्पनीले भारतमा निर्माण गरेको बालबालिकाका लक्षित सानो इलेक्ट्रीक डर्ट बाइक के३ नाइमा अटो शोमा आउने भएको हो ।

नेपालका लागि हिरो मोटरसाइकल तथा भीडा इलेक्ट्रीकको आधिकारिक बिक्रेता सिजी मोटर्सले आगामी साउन २६ गतेदेखि आयोजना हुन लागेको नाइमा अटो शोमा भीडा डर्ट-ई के३ बाइक प्रदर्शन गर्ने जानकारी दिएको हो ।

कम्पनीले ल्याएको भीडा डर्ट-ई के३ ई-बाइक विशेष गरी ४ देखि १० वर्ष उमेरका बालबालिकाका लागि उपयुक्त हुने गरी निर्माण गरिएको छ । त्यसैले यसलाई सानो बाइक भनिएको हो ।

यो बाइक बालबालिकाहरूलाई डर्ट बाइकिङको संसारमा परिचय गराउने उद्देश्यले डिजाइन गरिएको भीडा कम्पनीले बताएको छ ।

भीडाको पोर्टफोलियोमा पहिलो मोडेल को रूपमा के३ ई डर्ट बाइक बजारमा आएको थियो । यो ई-बाइकको मुख्य आकर्षण भनेको यसमा दिइएको एड्जस्टेबल चेसिस हो । जसमा बालबालिकाको उमेर तथा हाइट अनुसार यसको ह्वीलबेस, ह्यान्डलबार हाइट र सिट हाइटलाई अग्लो वा होचो बनाउन सकिन्छ ।

बाइकमा सानो, मध्यम र ठूलो गरी तीन कन्फिगरेसनमा सेट गर्न सकिन्छ । केवल २२ किलोग्राम मात्रै तौल रहेको यस बाइकलाई बालबालिकाहरूले सजिलै ह्यान्डल गर्न सक्ने छन् ।

बाइकमा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै कम्पनीले ह्यान्डलबारमा चेस्ट प्याड, दुर्घटना सुरक्षाको लागि म्याग्नेटिक किल स्विच, रियर मोटर कभर र वाल्क असिस्टका लागि रिमुभेबल फुटपेग जस्ता सुविधा फिचरहरू दिएको छ । यो मोडलमा पछाडिमात्रै ब्रेक पाइन्छ भने यदि चाहिएको खन्डमा फ्रन्ट ब्रेक, ठुलो टायर, सस्पेन्सन र रोड स्पेक टायर एसेशरिजका रूपमा छुट्टै लगाउन पाइन्छ ।

के३ मा ५०० वाटको मोटर र ३६० वाट आवरहो रिमुभेबल लिथियम आयन ब्याट्री प्याक छ । यसमा लो, मिड र हाई गरि राइडिङ मोड दिइएको छ ।

यसलाई भीडाले डिजिटल रूपमा एड्भान्स बनाएको छ । यसका साथै यसमा एउटा मोबाइल एप पाइने छ । जसबाट बालबालिकाको प्यारेन्सले एक्सिलरेशन रेस्पन्स एड्जस्ट र राइड स्टेटिस्टिक्स मनिटर गर्न सक्नेछन् ।

भीडाको यो मोडेलले यसको मोड्युलर डिजाइन र एर्र्गोनोमिक्सको लागि अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त गरेको थियो ।

भारतीय बजारमा ७० हजार रुपैयाँ भारु मूल्य तोकेर बिक्री भइरहेको के३ ई डर्ट बाइक नाइमामा प्रदर्शन मात्रै हुन्छकी नेपाली बजारमा बिक्रीमै आउने हो कम्पनीले खुलाएको छैन ।


Back_to_top