काठमाडौं । शंकर ग्रुपले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ४ करोड रुपैयाँ सहयोग गरेको छ ।
विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको उद्धार, राहत रपुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ रकम जम्मा गरेको हो ।
शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
यो सहयोगले बाढी प्रभावित क्षेत्रका तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा उद्धार, राहत, स्वास्थ्य उपचार र क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनामा उपयोग हुने विश्वास गरिएको छ ।
यो बाहके शंकर ग्रुपले विपद्को तेस्रो दिनमै भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख रुपैयाँ बराबरको २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको थियो ।
राष्ट्रिय संकटको बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व रहेको शंकर ग्रुपले जनाएको छ । साथै, भविष्यमा पनि यस्ता दायित्व सधैं पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।


