काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा कुल ६७५ युनिट विद्युतीय कार नेपाल भित्रिएका छन् । भन्सार तथ्यांक अनुसार साउनमा २३ ब्राण्डका उक्त संख्यामा विद्युतीय कार नेपाल आएका हुन् ।
साउनमा आधादर्जन नयाँ ब्राण्डका विद्युतीय कार नेपाल आएका छन् । व्यवसायीहरूले नाइमा मोबिलिटी र नाडा अटो शोलाई लक्षित गर्दै नयाँ ब्राण्ड नेपाल भित्र्याएका थिए ।
यो महिनामा मिनीकारदेखि प्रिमियम एसयूभीसम्म आयात भएका छन् । साउनमा २ दर्जन ब्राण्डका ईभी आयात हुँदा दुई ब्राण्डले मात्र १०० युनिटको आँकडा पार गरेका छन् ।
साउनमा सबैभन्दा धेरै बीवाइडीका कार भित्रिएका छन् । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले चार मोडल गरी कुल २१९ युनिट ईभी नेपाल ल्याएको हो । जसमा बीवाइडी एटो टु २११ युनिट, डेन्जा बी ५/८ पाँच युनिट, एटो वान २ युनिट र एटो थ्री १ युनिट रहेको छ ।
साउनमा दोस्रो धेरै ईभी आयात गर्नेमा टाटा रहेको छ । सिप्रदी ट्रेडिङले साउनमा कुल १६४ युनिट ईभी नेपाल भित्र्याएको छ । सिप्रदीले १०० युनिट पन्च ईभी, ६१ युनिट टियागो र ३ युनिट टिगोर ईभी नेपाल ल्याएको हो ।
साउनमा प्रोटोनका तेस्रो धेरै ६९ युनिट ईभी नेपाल भित्रिएका छन् । जगदम्बा मोटर्सले प्रोटोन इमास फाइभ र सेभेन गरी कुल ६९ युनिट कार नेपाल ल्याएको हो ।
चौथोमा एसपीजी अटोमोबाइल्सले जेको ब्राण्डको जे सिक्स ५० युनिट ल्याएको छ । एसपीजीले साउनमा ओमाडा ई फाइभ पनि ३८ युनिट भित्र्याएको छ । कम्पनीले नयाँ मोडलको रूपमा आइकार भी २७ दुई युनिट ल्याएको छ ।
पारामाउन्ट मोटर्सले एमजीका ४९ युनिट नेपाल भित्र्याएको छ । कम्पनीले एमजी एस सिक्स ४० र एस फाइभ ९ युनिट भित्र्याएको हो । त्यस्तै, कम्पनीले वुलिङ ब्राण्डका डेरियन एमपीभी र एक्सियन एसयूभी गरी ७ युनिट नेपाल ल्याएको छ ।
साउनमा एमएडब्लू वृद्धिले नामी भिगो १९ युनिट, जीओ अटोमोबाइल्सले एमजी विण्डसर ईभी १४ र कोमेट ईभी ४ युनिट, लक्ष्मी मोटरहबले आर्कफक्स टी वान १३ युनिट र लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटा ईभी १०, भीजी इम्पेक्सले ओरा फाइभ १० युनिट र एसक्युब इन्टरप्राइजेजले हेनरी भोल्टस १० युनिट ल्याएको छ । यी बाहेक अन्य ब्राण्डका कार आयात दोहोरो अंकमा छैनन् ।
साउनमा एवोन भी ४ युनिट र महिन्द्रा एक्सईभी नाइन एस, लीपमोटर बी १०, लीपमोटर बी०३ एक्स, हाभाल जोलियन म्याक्स, होङ्छी ईएचएस४ समान २/२ युनिट आयात भएको छ ।
त्यस्तै, एमहिरो, टेस्ला मोडल वाइ, चेरी क्यू, सुजुकी ई भिटारा १/१ युनिट आयात भएको छ ।


