काठमाडौं । नेपालका कार वासिङ धेरैको प्राथमिकतामा पर्दैन । साथै कार वास गर्ने स्थान पनि धेरै छैनन् । खुलेका पनि राम्रो र गुणस्तरिय सेवा प्रदान गर्न धेरै असफल छन् ।
त्यसमा पनि महँगा र ठूला गाडी चढ्ने अधिकांश मानिसले चालक राखेर गाडी चढ्छन् । त्यसैले गाडी धुने काम नै चालकको हुँदै आएको छ ।
समयक्रमसँगै पेट्रोलियम पदार्थबाट चल्नेभन्दा ईभीको बिक्री धेरै गुणा बढ्यो । जसको कारण ईभी धुँदा के गर्ने र कसरी धुने ज्ञान पनि धेरैमा आइसकेको छैन । धेरैले विद्युतीय गाडी घरमै धुने गरेको हामीले देखेका छौं ।
तथापि, धेरै ईभीका मालिकहरूको मनमा एउटा प्रश्न उठ्ने गर्छ, ‘पेट्रोल वा डिजेल कारजस्तै ईभीलाई पनि पानीले धुन सुरक्षित हुन्छ कि हुँदैन ?’
सामान्य भाषमा भन्नुपर्दा ईभी र पेट्रोल कार धुने प्रक्रियामा ठूलो भिन्नता छैन । दुवै किसिमका कारहरू बाहिरी भाग पानी, कार स्याम्पु र सामान्य प्रेसर वासबाट सफा गर्ने हो ।
ईभीमा रहेका ब्याट्री, मोटर र हाइ भोल्टेज सिस्टमहरू पानी र धुलोबाट सुरक्षित राख्न सिल गरिएको हुन्छ । त्यसैले सामान्य वर्षा वा कार वासले ईभीको विद्युतीय प्रणालीमा असर गर्दैन ।
यसो भन्दैमा ईभी सफा गर्दा केही सावधानी भने अपनाउन आवश्यक हुन्छ । घरमै ईभी धुँदा सबैभन्दा पहिले गाडी बन्द भएको र चार्जिङमा नजोडिएको सुनिश्चित गर्नुपर्छ । चार्जिङ पोर्ट खुला राखेर पानी हाल्नु हुँदैन । पोर्टको कभर राम्रोसँग बन्द भएको हुनुपर्छ ।
हाई प्रेसर वासर प्रयोग गरेर चार्जिङ पोर्ट, सेन्सर, क्यामेरा, ढोकाको रबर सिल तथा गाडीको तल्लो भागमा अत्यधिक नजिकबाट पानीको फोहोरा हान्नु हुँदैन । अत्यधिक प्रेसरले रबर सिल वा संवेदनशील उपकरणमा असर गर्न सक्छ ।
इन्जिन नभएकाले ईभीमा पेट्रोल कारजस्तो ‘इन्जिन बे’ सफा गर्नुपर्दैन । फ्रन्ट बुट खोलेर इलेक्ट्रोनिक कम्पोनेन्टमा धुलो बस्यो भनेर सिधै पानीको फोहोरा हान्नु हुँदैन ।
विद्युतीय कार धुने क्रममा चार्जिङ पोर्ट, क्यामेरा, राडार तथा सेन्सरमा कडा ब्रस प्रयोग गर्नु हुँदैन । माइक्रोफाइबर कपडा र हल्का कार स्याम्पु प्रयोग गरेको खण्डमा राम्रोसँग सफा गर्न सकिन्छ ।
कार विशेषज्ञहरूका अनुसार आधुनिक ईभीलाई सामान्य कारसरह धुन सकिन्छ । तर, चार्जिङ पोर्ट बन्द राख्ने, विद्युतीय कनेक्टरमा सिधै पानी नहाल्ने र अत्यधिक हाई-प्रेसर वासबाट बच्ने हो भने घरमै ईभी सफा गर्दा सुरक्षित पनि हुन्छ र पैसा पनि बच्छ ।


