काठमाडौं । दशैंमा लामो यात्रा गरेर घर वा घुमफिरका लागि निस्कने योजना बनाउँदै हुनुहुन्छ भने गाडी वा मोटरसाइकलको टायर जाँच गर्न नभुल्नु होला ।
यात्रामा निस्कनु अघि टायरको अवस्था र हावाको चाप जस्ता सुन्दा सामान्य लाग्ने कुरामा लापरबाही गर्दा बीच बाटोमा पन्चर हुनेदेखि दुर्घटनासम्मको जोखिम निम्तन सक्छ ।
नेपालका सडक राम्रो अवस्थामा छैन । त्यसमाथि अहिले पनि वर्षा नै रहेको अवस्था छ । कति सडक पूर्ण रूपमा अझै संचालनमा आउन सकेका छैनन् ।
सडकमा खाल्डाखुल्डी, तीखा ढुंगा, निर्माणस्थलमा छरिएका किला लगायतका बस्तुले सवारीसाधनको टायरमा क्षति पुर्याउन सक्छ । लामो यात्रामा निस्कँदा यात्रु र सामानको भार पनि बढ्ने तथा लगातार सवारी चलाउँदा टायर तात्ने हुन्छ । त्यसैले यात्रामा निस्कनुअघि टायर राम्रोसँग जाँच गर्नु उपयुक्त हुन्छ ।
त्यसैले हामीले यहाँ टायर सुरक्षित राख्न चालकले ध्यान दिनुपर्ने ७ तथ्यका विषयमा चर्चा गरेका छौं ।
पहिलो चेक नै हावाको चाप
टायरमा कम वा बढी हावा दुवैले समस्या निम्तन सक्छ । कम हावामा टायर अत्यधिक तात्ने र आन्तरिक क्षतिको संभावना रहन्छ । बढी हावाले सडकसँगको सम्पर्क तथा ग्रिप प्रभावित बनाउँछ ।

त्यसैले मोटरसाइकल वा गाडीमा दिएको विवरण अनुसार हावा ठिक छ वा छैन एकिन गर्नुपर्छ । आजकल धेरै कारहरुमा टायर प्रेसर मोनिटरिङ सिस्टम दिएको हुन्छ । त्यसले टायरमा हावाको चापदेखि तापक्रम पनि देखाउँछ । त्यसलाई हेरेर एकिन गर्नुपर्छ ।
टायर चिसो हुँदा नै प्रेसर जाँच्नुहोस्
लामो समय सवारी नचलाइ राखेको अवस्थामा प्रेसर जाँच गर्नु उपयुक्त हुन्छ । आँखाले हेरेर वा हातले थिचेर मात्र हावा पर्याप्त छ कि छैन भन्ने यकिन गर्न सकिँदैन । टायर प्रेसर मोनिटरिङ सिस्टम नभएका कार र मोटरसाइकलहरुमा भरपर्दो प्रेसर गेज प्रयोग गरेर हेर्नु पर्छ ।
ट्रेड र साइडवाल ध्यानपूर्वक हेर्ने
टायरको सडकसँग सम्पर्क हुने भाग अर्थात् ट्रेडमा किला, स्क्रु, सिसा वा ढुंगा अड्किएको छ कि छैन जाँच्नुपर्छ । त्यस्तै, टायरको छेउमा चिरा, कट वा असामान्य रूपमा फुलेको भाग देखिएमा बेवास्ता गर्नु हुँदैन । साइडवाल फुलेको टायरमा आन्तरिक क्षति हुन सक्ने भएकाले विशेषज्ञबाट जाँच गराउनुपर्छ ।
खाल्डाखुल्डीमा गति कम गर्ने
खाल्डाखुल्डी भएको बाटोमा तीव्र गतिमा गाडी दौडाउँदा टायरको भित्री संरचना र रिममा समेत क्षति पुग्न सक्छ । पहाडी, कच्ची तथा निर्माणाधीन सडकमा तिब्र गतिमा गाडी चलाउनु टायर र रिमको लागि नै खतरा हुन्छ । गाडी आफ्नो लेनमै चलाउने तर विस्तारै हाँक्ने गर्नुपर्छ ।

भार बोक्दा ध्यान दिने
दशैंमा परिवारका सदस्य र सामानसहित यात्रा गर्दा गाडीमा भार बढ्न सक्छ । गाडीको निर्धारित क्षमताभन्दा बढी भार बोक्दा टायरमा दबाब बढ्छ । त्यसैले यात्रु, सामान र टायरको भार क्षमता सम्बन्धी निर्देशन पालना गर्नुपर्छ ।
स्पेयर टायर र आवश्यक औजार राख्ने
आजकल ईभीमा स्पेयर टायर आउँदैन । मोटरसाइकलमा स्पेयर टायर राख्ने स्थान नै हुँदैन । त्यसैले कारको हकमा स्पेयर टायर राखेर हिँड्नु निकै सुरक्षित हुन्छ ।
हावा हाल्ने मेसिन, ज्याक, ह्वील खोल्ने रेन्च तथा आवश्यक औजार साथमा राख्दा राम्रो हुन्छ । मोटरसाइकल चालकले पनि पन्चर मर्मतको व्यवस्था र नजिकका सेवा केन्द्रबारे जानकारी राख्नु उपयोगी हुन्छ ।
असामान्य संकेत हेर्ने
गाडी एकातिर तानिने, स्टेयरिङमा कम्पन आउने वा टायरबाट असामान्य आवाज सुनिने भए सुरक्षित स्थानमा रोकिएर जाँच गर्नुपर्छ । टायरमा किला गाडिएको देखिएमा आफैँ निकाल्नु हुँदैन । गहिरो चिरा, साइडवालको फुलाइ वा भित्री संरचना देखिएको अवस्थामा टायर परिवर्तन वा विशेषज्ञको सल्लाह आवश्यक हुन्छ ।

