काठमाडौं । केई ब्राण्डको विद्युतीय ह्याचब्याक कार इक्युट-०४ नयाँ अपडेटसहित नेपाली बजारमा प्रवेश गरेको छ । चीनमा नयाँ इक्युट-०४ म्याक्स भनेर आएको यो क्युट ह्याचब्याकको मोटरको क्षमता बढेर आएको हो ।
सीएटीएल कम्पनीको ब्याट्री प्रयोग भएको इक्युट-०४को नयाँ मोडलमा इन्टेरियर पनि नयाँ नै भएर आएको छ । आधुनिक फिचरहरू पनि थपिएको कारको मूल्य २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
नेपालमा लक्ष्मी ईमोबिलिटी र जीओ अटोमोबाइल्सले केई ब्राण्डका विद्युतीय कार बिक्री गर्दै आएका छन् । अपडेट भएर आएर आएको इक्युट-०४ कम मूल्यको पारिवारिक कार खोज्नेलाई आकर्षक मोडल हुन सक्ने देखिन्छ ।
पहिलेभन्दा के-के फरक ?
नयाँ इक्युट-०४ म्याक्समा ५५ किलोवाटको मोटर दिइएको छ । यसअघिको ४० किलोवाटको मोटर थियो । नयाँ मोटरले ७४ हर्सपावर शक्ति उत्पादन गर्छ ।

ब्याट्री क्षमता भने उही २८.०८ किलोवाट आवर नै छ । ब्याट्री उत्पादक भने फेरिको छ । नयाँ संस्करणमा सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री प्रयोग भएको छ ।
कम्पनीले दाबी गरेको सीएलटीसी रेन्ज ३१० किलोमिटर छ । डीसी फास्ट चार्जर पनि पहिलेभन्दा बढी क्षमाताको सपोर्ट गर्ने भएर आएको छ ।
डिजाइनमा नयाँ बम्पर, स्पोर्टी साइड भेन्ट, एलोय ह्वील र हिडन डोर ह्याण्डल छन् । इन्टेरियरमा १२.८ इन्चको टचस्क्रीन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । एप्पल कारप्ले, एन्ड्रोइड अटो, ब्लुटुथ, ३६० डिग्री क्यामेरा र भीटूएक्स सुविधा पनि पाइन्छ ।
सुरक्षाका लागि डुअल एयरब्याग, एबीएस, ईबीडी, ट्रयाक्सन कन्ट्रोल र ब्रेक असिस्ट जस्ता फिचर छन् ।
मासिक किस्ता कति ?
नेपालमा यसको मूल्य २५ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ । गाडी किन्नेले सुरूमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । त्यो भनेको १० लाख ३८ हजार ४०० रुपैयाँ हो ।

डाउन पेमेन्टपछि बाँकी रकम १५ लाख ५७ हजार ६०० रुपैयाँ बैंकबाट ७ वर्षका लागि ऋण पाइन्छ । हाल बैंकको ब्याजदर इतिहासकै सस्तो छ । अधिकांश बैंकबाट ५र५.५ प्रतिशत ब्याजदरमा ऋण पाइने अवस्था छ । यस्तोमा वार्षिक ५.५ प्रतिशत ब्याजदरका आधारमा हिसाब गर्दा मासिक किस्ता करिब २२ हजार ४०० रुपैयाँ पर्छ ।
यो मासिक किस्ता ७ वर्षसम्म ब्याजदर स्थिर रहने अनुमानमा आधारित हो ।

