काठमाडौं । विश्व प्रसिद्ध अटोमोबाइल ब्राण्ड स्टेलान्टिसले भारतमा करिब ४ हजार करोड भारु (६४ अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले भारतमा आफ्नो व्यवसाय विस्तारका लागि उक्त लगानी गर्ने भएको हो ।
‘फास्टलेन २०३०’ रणनीति अन्तर्गत गरिएको यो विस्तारले भारतमा स्टेलान्टिसको कुल लगानीलाई ११ हजार करोडबाट बढाएर सन् २०३० सम्म १५ हजार करोड भारु पुर्याउनेछ । यस योजना अन्तर्गतको पहिलो गाडी सन् २०२७ को दोस्रो त्रैमासिकसम्ममा सार्वजनिक हुनेछ।
यो घोषणा मे २०२६ मा सार्वजनिक गरिएको स्टेलान्टिसको एसिया-प्यासिफिक रणनीतिमा आधारित छ । टाटा र स्टेलान्टिस बीच भएको सम्झौताले गाडीको डिजाइन र प्रविधिमा सहकार्यलाई औपचारिकता दिएको छ।
कम्पनीले उक्त लगानीबाट सन् २०३० सम्ममा जीप र सिट्रोन ब्राण्डमा १२ वटा नयाँ मोडल बजारमा ल्याउने योजना बनाएको छ । जसमा ७ वटा पूरै नयाँ मोडल र ५ वटा अपग्रेड हुने मोडल रहेका छन् ।
स्टेलान्टिसका अनुसार आउने पूरै नयाँ ७ मोडलमध्ये ४ वटा जीप र ३ वटा सिट्रोनका रहेका छन् । त्यस्तै, यस योजना अन्तर्गत सिट्रोनका ४ र पीपको एउटा मोडल अपग्रेड हुनेछ ।
स्टेलान्टिसले आफ्ना गाडीहरूमा ९० प्रतिशतसम्म स्थानीय पाटपूर्जा र प्रविधि प्रयोग गर्ने लक्ष्य राखेको छ । कम्पनीका हाल भारतमा महाराष्ट्रको रञ्जनगाउँ, तमिलनाडुको तिरुवल्लुर र होसुरमा गरी ३ वटा प्लाण्ट छन् । साथै बेंगलुरु र हैदराबादमा इन्जिनियरिङ र सफ्टवेयर केन्द्रहरू रहेका छन्।
कम्पनीले भारतमा उत्पादन विस्तारसँगै बिक्री, सर्भिस र स्पेयर पार्ट्सको उपलब्धतामा सुधार गर्नेछ । स्टेलान्टिसले हाल भारतबाट करिब ५० देशमा निर्यात गर्दै आएको छ। होसुर प्लाण्टमा बन्ने ९५ प्रतिशत इन्जिन र गियरबक्सहरू निर्यात हुन्छन्। ‘फास्टलेन २०३०’ अन्तर्गत भारतमा बनेका गाडीहरूलाई अन्य देशहरूमा पनि बिक्री गरिने छ ।
गाडीका विस्तृत विवरण, इन्जिन र लन्च मिति पछि घोषणा गर्ने कम्पनीले जनाएको छ ।

