दशैंमा मोटरसाइकलमा घुम्न जाँदै हुनुहुन्छ ? निस्कनु अघि यी ५ काम गर्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालमा मोटरसाइकल टुरिङ कल्चर विकास हुँदै गएको छ । अझ अलि लामो बिदाको बेला यस्ता गतिविधि धेरै देखिन्छन् । यो पटक दशैंकमा एक साता लामो बिदा छ । त्यसैले धेरै जना विभिन्न गन्तव्यमा घुम्न जाने योजनामा छन् ।

आरामदायी र सहज रूपमा घुमफिर गर्न चाहनेहरू कारमा यात्रा गर्छन् । तर, एड्भेन्चर, साहसिक टुर मन पराउनेहरू मोटरसाइकलको यात्रा रुचाउँछन् । मोटरसाइकलमा लामो दूरी पार गर्दै नयाँ ठाउँ, नयाँ दृश्य र नयाँ अनुभव लिनु आफैंमा विशेष हुन्छ ।

तर, सफल र सुरक्षित लामो बाइक टुरका लागि केवल मोटरसाइकल स्टार्ट गरेर निस्किनु मात्रै पर्याप्त हुँदैन । राम्रो योजना, उपयुक्त गियर, स्मार्ट प्याकिङ र बाइकको तयारी अनिवार्य रूपमा हुनुपर्छ ।

राइड सुरू गरेपछि यात्रालाई सहज, सुरक्षित र स्मरणीय बनाउनुपर्छ । जसका लागि यात्रामा निस्कनु अघि र यात्राको दौरान विभिन्न तयारीरकाम गर्नुपर्छ । यदी तपाईं पनि यो दशैंकमा मोटरसाइकलमा घुम्न जाँदै हुनुहुन्छ भने यी ६ काम गरेर मात्र निकस्नुहोस् । जसले तपाईंको यात्रा रोमाञ्चक, सुरक्षित र अविष्मरणीय बनाउँन सहयोग पुर्याउँछ ।

१. पूर्व योजना बनाउने

राम्रो योजना बिना टुर सफल हुँदैन । बिना योजनाको टुर अस्तव्यवस्त, भद्रगोल र जोखिमपूर्ण समेत हुन सक्छ । त्यसैले पूर्वयोजना बनाएर मात्र यात्रामा निस्कनुपर्छ । सबैभन्दा पहिला आफ्नो गन्तव्य छनोट गर्नुहोस् । उक्त गन्तव्यमा पुग्ने सडक (कालोपत्ररकच्ची), मौसम, बासबस्ने, खानाखाने, पेट्रोल पम्प लगायत स्थानहरूको पूर्वजानकारी लिनुहोस् । नयाँ ठाउँमा जाँदा सबै बाटो थाहा नहुने भएकाले आफ्नो मोबाइलमा अफलाइन म्याप डाउनलोड गर्नुहोस् ।

त्यस्तै, यात्राको समयतालिका बनाउनुहोस् । दैनिक कति किलोमिटर यात्रा गर्ने, कुन ठाउँमा बासबस्ने तय गर्नुहोस् । रात पर्नुभन्दा धेरै अगाडि नै गन्तव्यमा पुग्ने हिसाबले हिँड्नुपर्छ । लामो दूरीले शारीरिक र मानसिक रूपमै थकाउने काम गर्छ । त्यसैले एकदिनमा १५० देखि २०० किलोमिटर दुरी यात्रा गर्नु राम्रो हुन्छ ।

बजेट व्यवस्थापनमा विशेष ध्यान दिनुहोस् । इन्धन, खाना, बस्ने ठाउँ र आकस्मिक खर्चका लागि अनुमानित बजेटभन्दा केही बढी नगद साथमा राख्नुहोस् । सबै ठाउँमा अनलाइन भुक्तानीको व्यवस्था हुन्छ भन्ने छैन् ।

२. उपयुक्त मोटरसाइकल छनाेट

टुरिङका लागि महँगो वा ठूलो मोटरसाइकल नै चाहिन्छ भन्ने छैन । स्कुटर, कम्प्युटर बाइक वा एड्भेन्चर बाइक लगायत साना क्षमताका जुनसुकै साधनमा पनि यात्रा गर्न सकिन्छ । तर, तपाईं जाने गन्तव्यको सडकको अवस्था अनुसार साधन लैजानु उपयुक्त हुन्छ । यदि कालोपत्र सडक छ भने स्कुटर वा साना क्षमताका मोटरसाइकलबाटै यात्रा गर्न सकिन्छ । अफरोडमा यी साधनबाट यात्रा गर्न निकै कठिनाइ हुन्छ । पहाडी र हिमाली क्षेत्रको कच्ची बाटो छ भने डर्ट, एड्भेन्चर मोटरसाइल उपयुक्त हुन्छ ।

३. उपयुक्त गियर प्रयोग

मोटरसाइकलमा लामो यात्रा गर्नु छ भने सुरक्षा गियरलाई कहिल्यै वेवास्ता गर्नु हुँदैन । राम्रो फिट हुने फुलफेस हेल्मेट, राइडिङ ज्याकेट प्यान्ट, ग्लोभ्स र बुट जस्ता आर्मरयुक्त सुरक्षा कपडा नै प्रयोग गर्नुपर्छ ।

४. यात्रा अघि आफ्नो साधनको चेकजाँच अनिवार्य

राइड सुरू गर्नु अघि आफ्नो साधनको आधारभूत चेकअप गर्नु पहिलो अनिवार्य कुरा हो । मोटरसाइकलको टायर प्रेसर, चेन लुब्रिकेन्ट, ब्रेक प्याड, इन्जिन आयल, लाइट, ब्याट्री लगायतका सबै पार्टस चेक गर्ने र टुर अघि नै फुल सर्भिस गराउनु राम्रो हुन्छ ।

५. अत्यावश्यक र आपतकालीन सामग्री

यात्रामा निकस्ँदा आफ्ना अत्यावश्यक कागजात सवारी चालक अनुमति पत्र, मोटरसाइकलको ब्लूक बुक साथमै बोक्नुहोस् । साथै, परिवारका सदस्य वा नजिकका साथीहरूको आपतकालीन फोन नम्बर एउटा कागजमा लेखी गोजीमा राख्नुहोस् ।

मोटरसाइकलमा यात्रा गर्दा धेरै सामान बोक्न सम्भव हुँदैन । धेरै सामानले मोटरसाइकल भारी र असन्तुलित हुन्छ । त्यसैले सन्तुलन मिलायर मोटरसाइकलको पछाडि दुवै साइडमा राख्ने किसिमको वाटरप्रुफ ब्याग प्रयोग गर्नु राम्रो हुन्छ । जसमा आफ्ना कपडा, साधारण औषधीहरू (सिटामोल, ब्याण्डजेज, एन्टिसेप्टिक क्रिम लगायत), पिउने पानी, पावर बैंक, मोटरसाइकलको टुलकिट र पञ्चर रिपेयर किट जस्ता एकदमै आवश्यक पर्ने सामानहरू बोक्नुपर्छ ।

मोटरसाइकल टुरिङ गन्तव्यभन्दा पनि यात्राको अनुभव हो । पूर्वयोजना, आवश्यक तयारी, अनुशासित राइडिङ गरियो भने यात्राको हरेक किलोमिटर अविस्मरणीय बन्न सक्छ ।


Back_to_top