फरक ‘स्वाद’ खोज्नेले कुर्नु पर्ने दुई मोटरसाइकल

काठमाडौं । यही महिना भारतमा सार्वजनिक भएका दुई मोटरसाइकलको अहिले व्यापक चर्चा छ । होण्डा एक्सआर ३०० र ट्रायम्फ बोनिभेल ४०० अहिले मोटरसाइकल बजार तताइरहेका छन् । नेपाली मोटरसाइकल प्रेमीले पनि खुब चासो राखिरहेका छन् ।

विशेषगरी प्रिमियम एड्भेन्चर तथा मिड क्यापासिटी सेग्मेन्टमा नयाँ विकल्प खोजिरहेको राइडरको लागि यी मोटरसाइकल आकर्षक विकल्प हुन् । यी दुई मोटरसाइकल नेपालमा पनि चाँडै आउने सम्भावना छ । ट्रायम्फ बोनिभेल केही महिनाभित्रै नेपाल आउने छ भने होण्डा एक्सआर केही समय लाग्न सक्छ । फरक स्वाद खोज्ने ग्राहकले केही समय पर्खेर यी मोटरसाइकल किन्न सक्नेछन् ।

होण्डा एक्सआर ३००

होण्डा एक्सआर सिरिज विश्वभर नै एड्भेन्चर र अफरोड क्षमता भएको मोटरसाइकलको रूपमा परिचित मोटरसाइकल हो । एड्भेन्चर सेग्मेन्टमा नयाँ विकल्प खोज्ने ग्राहकले होण्डा एक्सआर ३०० नयाँ विकल्प बन्न सक्छ ।

यसको डिजाइन रग्ड एड्भेन्चर स्टाइल, उच्च ग्राउण्ड क्लियरेन्स र खराब सडकहमा पनि सहज रूपमा चलाउन सकिने छ । भारतमा उत्पादन भएको यो मोटरसाइकल १ लाख ८३ हजार भारतीय रुपैयाँमा सार्वजनिक भएको छ ।

यो मोटरसाइकलमा २९३.५ सीसी सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो इन्जिनले २४.३ हर्षपावर र २६.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । यसमा स्वीचएबल डुअल च्यानल एबीएस, होण्डा सेलेक्टेबल टर्क कन्ट्रोल, ५ इन्च टीएफटी डिस्प्ले  जस्ता फिचर उपलब्ध छ ।

ट्रायम्फ बोनिभेल ४००

क्लासिक डिजाइनसँग आधुनिक प्रविधिको समिश्रण भएको बोनिभेल ४०० मोटरसाइकल भारतमा सुरूवाती मूल्य २ लाख ५४ हजार भारुमा सार्वजनिक भएको छ । बोनेभिलमा परम्परागत बोनेभिल शैलीलाई नै प्राथमिकता दिँदै आधुनिक प्रविधि र राइडर एड्स उपलब्ध गराइएको छ ।

यसमा टियरड्रप आकारको फ्युल ट्यांक, गोलाकार हेडलाइट, स्पोक ह्वील र ट्विन रियर शक एब्जर्बर दिइएको छ । फ्ल्याट बेन्च स्टाइल सिट र पेइसुटर शैलीको एग्जस्टले मोटरसाइकललाई अझै क्लासिक लुक दिएको छ ।

यसमा ट्रायम्फको टीआर सिरिजबाट विकसित ३४९ सीसी, लिक्विड-कुल्ड, सिंगल-सिलिण्डर डीओएचसी इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले ७ हजार आरपीएममा २९ पीएस पावर तथा ५५०० आरपीएममा ३१ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई ६-स्पीड गियरबक्स र असिस्ट-स्लिपर क्लच उपलब्ध छ । यसमा कलर एलसीडी डिस्प्ले, टर्न-बाइ-टर्न नेभिगेसन, राइडिङ मोड, ट्र्याक्सन कन्ट्रोल र डुअल-च्यानल एबीएस दिइएको छ ।


Back_to_top