काठमाडौं । जडिबुटीमा बन्दै गरेको बेली ब्रीज दसैंसम्ममा सम्पन्न हुने भएको छ । काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार उक्त बेली ब्रीज निर्माण तिब्र गतिमा भइरहेको छ ।
२४.३८ मिटर लम्बाईको उक्त ब्रीज निर्माण भए पछि जडिबुटीबाट सोझै बालकुमारी निस्किन सकिने छ । सो ब्रीज आर्थिक वर्ष २०७५/७६ सम्ममा सकिनु पर्ने थियो । सो पुल निर्माण अवधिमा सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरिएको विभागका सूचना अधिकारी सुदर्शन कार्कीले जानकारी दिए ।
उनले उक्त ब्रीज निर्माण तिब्र गतिमा भइरहेको भन्दै यही असोज÷कार्तिक महिनासम्ममा निर्माण सम्पन्न हुने बताए । ‘आर्थिक वर्ष २०७५/७६ सालको असारसम्ममा निर्माण सकिनु पर्ने थियो तर, समयमै नसकिए पछि फेरी म्याद थप गरिएको छ, अब यही दसैंसम्ममा निर्माण भइसक्छ,’ कार्कीले भने ।
उक्त पुल निर्माण भएपछि कोटेश्वर चोकमा हुने जाम कम हुने अनुमान गरिएको छ । यस पुललाई कोटेश्वरबाट जडिबुटी हुँदै बालकुमारी जाने बैकल्पीक सडकको रुपमा लिइएको छ ।
जडिबुटीबाट प्रवेश गरी हिमालयन आँखा अस्पताल हुँदै बालकुमारी निस्कने सडकलाई स्तरोन्नती हुने काम समेत भइरहेको छ भने सो सडकमा पर्ने मनोहरा खोलामा बेली ब्रीज निर्माण हुने क्रम हुँदै छ ।
उनका अनुसार सो पुल निर्माण पछि सवारीहरु जडिबुटीबाट सजिलै बालकुमारी पुग्न सक्ने कार्कीले बताए । सो सडकमा हाल रहेको पुलको क्षमता कम्जोर भएकाले सो स्थानमा छुट्टै बेलीब्रीज निर्माण गरिदैछ । पुल निर्माण पछि सो खण्डबाट ठूला सवारी समेत सजिलै आवत जावत गर्न सक्ने छन् ।
यस्तै आर्थिक वर्ष २०७६/७७ साल भित्र निर्माण सम्पन्न गर्ने थप ३ वटा पुल निर्माण भइरहेको छ । साँखु मनमती खोलामा २१ मिटर लामो आरसीसी ब्रीज निर्माण हुने क्रममा छ । ललीतपुर–काठमाडौं जोड्ने बागमती–नैखण्डी पुल निर्माणाधिन अवस्थामा रहेको छ ।
घट्टेकुलोमा १२ मिटर लम्बाईको आसीसी ब्रीज निर्माण हुने क्रममा रहेको छ । सो पुल निर्माण यही चालु आर्थिक वर्ष भित्र सकिने कार्कीले जानकारी दिए ।


