काठमाडौं छाड्ने ह्वात्तै बढे, एक हप्तामै बाहिरिए साढे ८ लाख

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सोमबारदेखि लामो दूरीका सवारी साधनहरु बन्द गर्ने निर्णय सँगै उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न मानिसहरु राजधानी छाड्दै गाउँ जाने क्रम बढ्दो छ । पछिल्लो ४ दिनमा मात्रै करिब ६ लाख मानिसले राजधानी छाडेका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार मात्रै करिब २ लाख भन्दा बढी मानिसले उपत्यका छाडेका छन् । यस्तै आइतबार दिउँसो २ बजेसम्मको अवधिमम १९ हजार ३ सय ४८ सवारी साधनमार्फत १ लाख २८ हजार ५ सय ९२ यात्रुहरु बाहिरिएका छन् । त्यसै गरी ६ हजार ४ सय ६५ सावारी साधन उपत्यका भित्रिएका छन् भने १८ हजार ५ सय १९ यात्रु उपत्यका प्रवेश गरेका छन् ।

शनिबार मात्रै २ लाख ६ हजार ३ सय ३९ जना काठमाडौंबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बाहिरिने गाडीको संख्या २९ हजार ७३ रहेको छ । त्यसैगरी १६ हजार ८५ गाडीबाट ४८ हजार ७२ जना काठमाडौं भित्रिएका छन् ।

६ देखि ८ गतेसम्ममा ४५ हजार ६८२ गाडीमा एक लाख ९४ हजार ७२२ यात्रु भित्रिएका छन् भने राजधानीबाट ६४ हजार ७३२ गाडीमा ४ लाख ४५ हजार ६१९ यात्रु बाहिरिएका छन् ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार सरकारले भोलि (सोमबार) देखि लामो दूरीका सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने भएको छ ।उनले आज लामो दूरीका सवारी सञ्चालनको अन्तिम दिन भएकाले उपत्यकााट बाहिरिनेको संख्या उच्च भएको बताए ।

‘सार्वजनिक सवारी सञ्चालन गर्ने आज अन्तिम दिन हो, भोलिबाट सबै आफ्नै ठाउँमा सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले कलेज, विद्यालय छुट्टिभएकाले घर फर्किनेको संख्या बढेको हो,’ ढकालले चाणक्यपोष्टसँग भने ।

सरकारले सम्पूर्ण नागरीकलाई आफ्नो ठाँउमा सुरक्षित भएर बस्नु भनेकाले अन्य दिनको तुलनामा हिजो र आज उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले केही दिनका लागि यस्तो रोक लागाइएको जानकारी दिएका थिए । सरकाले सम्पूर्ण देशबासी लाई आफ्नो आफ्नो ठाँउबाट सुरक्षित हुन भने पछि आफ्नो सुरक्षाको लागि उपत्यका छोड्न थालेका हुन् ।

उपत्यकामा विभिन्न व्यापार, व्यवसाय गरेर बसेकाहरू समेत व्यवसाय बन्द गरेर बाहिरिन थालेका छन् । कोरोना भाइरसको त्रासका कारण व्यापार व्यवसाय बन्द गरेर घर फर्कनेहरुको संख्या बढ्दो छ । कोरोनको त्रासले स्कूल, कलेजहरुमा बिदा दिएपछि आफ्नो जन्मथलो गाँउघर जानेको संख्या बढेको हो ।

बाहिरीने यात्रुहरुको संख्या वृद्धि भएसँगै गाडीको अभाव, टिकट नपाइने तथा उभिने ठाँउ पाउन समेत गाह्रो भएको छ । दैनिक रुपमा उपत्यका बाट बाहिरिनेको संख्या बढेको छ ।

पछिल्लो ७ दिन (आइतबार दिँउसो २ बजे) सम्मको महाशाखाको तथ्यांक हेर्दा ८ लाख ४९ हजार ४ सय ७५ जाना उपत्यका बाट बाहिरिएको देख्न सकिन्छ । त्यस्तै उपत्यका भित्रिनेको संख्या ४ लाख ९४ हजार ५ सय १४ रहेका छ ।


Back_to_top