पेट्रोलियम पदार्थ विक्रीमा भारी गिरावट, ५ दिनमा बिक्ने पेट्रोल बिक्न ४५ दिन लाग्यो

काठमाडौं । लकडाउनका कारण पेट्रोलियम पदार्थको विक्रीवितरणमा भारी गिरावट आएको छ ।

गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र विक्री भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमको तथ्यांकानुसार गत चैत ११ गतेदेखि वैशाख २८ गतेसम्म देशैभर उक्त ६८ हजार किलोलिटर डिजेल र १६ हजार किलोलिटर पेट्रोल विक्री भएको हो । लकडाउनपूर्व दैनिक ८ हजार डिजेल र ३ हजार पेट्रोल विक्रीवितरण हुँदै आएको थियो ।

अन्य दिनमा ५ दिनमा विक्री हुने पेट्रोल र ८ दिनमा विक्री हुने डिजेल लकडाउनका कारण ४५ दिनमा विक्री भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा टाइमकार्ड लागू गरेर सवारी साधन सञ्चालन हुँदा पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको छ ।

लकडाउन अवधिमा थानकोट डिपोबाट दैनिक ८० किलोलिटर पेट्रोल र २०० किलोलिटर डिलेज खपत हुँदै आएकामा हाल खपत दोब्बर भएको छ ।

लकडाउनका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आउँदा सातामा एक दिन मात्र मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट तेल आउने गरेको छ ।

‘हामीसँग भएको भण्डारणबाट निश्चित मात्रामा तेल घटेपछि इण्डियन आयल कर्पोरेशनलाई भनेर पाइपलाइन सञ्चालन गर्दै आएका छौँ,’ उनले भने, ‘दैनिक रुपमा तेल आउँदा भण्डारणमा समस्या आएपछि हामीले तेल घटेपछि मात्र ल्याउने गरेका हौँ । हाम्रो मागअनुसार आइओसीमार्फत दुईतीन दिन तथा एक सातामा पाइपलाइनबाट तेल आउने गरेको छ ।’

उनका अनुसार २० हजार छ सय किलोलिटर भण्डारण क्षमता रहेको डिपोबाट दैनिक करीब १२ लाख लिटर डिजेल विक्री हुने गरेकामा हाल एक दिन बिराएर डिपो सञ्चालन गर्दा करीब ५ लाख लिटर मात्रै विक्री हुने गरेको छ ।

प्रवक्ता उपाध्यायका अनुसार हाल निगमसँग ९० प्रतिशत डिजेल, ८७ प्रतिशत पेट्रोल र ९३ प्रतिशत हवाइ इन्धन मौज्दात छ ।


Back_to_top