काठमाडौं । रेनोले आफ्नो पछिल्लो एमपीभी ट्राइबरलाई अटोमेटिक गियरबक्समा ल्याएको छ । लकडाउन कै बीच कम्पनीले बीएस ६ मापदण्डको इन्जिनसहित अटोमेटिक गियरबक्समा ट्राइबरलाई सार्वजनिक गरेको हो ।
भारतमा लकडाउन केही खुकुलो भएसँगै रेनोले ट्राइबरलाई सार्वजनिक गरेको हो । आरएक्सई भेरियन्टलाई कम्पनीले अटोमेटिक गियरबक्समा ल्याएको हो ।
रेनो ट्राइबरको नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको छ । रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइलले रेनोका उत्पादन बिक्री गर्दै आएको छ । यस्तोमा कम्पनीले केही समयपछि अटोमेटिक ट्राइबरपनि नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।
कम्पनीले नेपाली बजारमा उपलब्ध ट्राइबरको सुरुवाति आरएक्सई भेरियन्टको मूल्य २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो ।
रेनो ट्राइबर नेपाली बजारमा पाँच सिटर अप्सन र तिन भेरियन्टमा उपलब्ध हुनेछ । तर, रेनोले भारतीय बजारमा यसलाई ७ सिट क्षमतामा बिक्री गरिरहेको छ ।
आरएक्सई, आरएक्सइ (एएमटी) आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ ।
उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।
कारको लम्बाई ३९९० एमएम, चौडाई १७३९ एमएम र उचाई १६४३ एमएम रहेको छ भने ह्वीलबेस २६३६ एमएम रहेको छ । १८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।
रेनो–निसान–मित्सुविसीको सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीडको बेस्डमा तयार भएको ट्राइबरको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । ग्राहकले यसमा ६२५ लिटरको विशाल बुटस्पेश पाउने छन् ।


