काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले एटो-३ लाई १०० किलोवाट क्षमताको मोटरमा ल्याउने भएको छ । कम्पनीले आज शुक्रबार साँझ ६ः४५ मा यसको मूल्य घोषणा गर्ने जनाएको छ ।
साइमेक्स इंकले एटो-३ को अहिले विक्री गरिरहेको मोडलमा कम क्षमताको मोटर प्रदान गरेर नेपाल ल्याउन लागेको हो । यसअघि नै नेपाल सरकारको करको कारण गाडी विक्रीमा असर परेको भन्दै बीवाइडीले नै नेपाल र सिंगापुरको लागि १०० किलोवाटको गाडीमा काम भइरहेको जनाएको थियो ।
अहिले बजारमा विक्री भइरहेको एटो-३ मा १५० किलोवाट आवरको मोटर रहेको थियो । ठूलो मोटर रहेकै कारण गाडीको मूल्य ८९ लाख ९० हजार तोकेर विक्री भएको थियो । अब कम क्षमताको मोटरमा आएसँगै १० प्रतिशत भन्सार रकम तिरे पुग्छ । त्यसैको कारण गाडीको मूल्य २२ देखि २३ लाख रुपैयाँले कम हुने अनुमान लगाउन सकिन्छ ।
यद्यपि, आधिकारीक मूल्य घोषणाको लागि भने केही घन्टा कुर्नु पर्ने हुन्छ । कम्पनीले मूल्य सार्वजनिक गरेसँगै गाडीको बुकिङ पनि सुरु गर्ने जनाएको छ ।
१५० किलोवाटको मोटरमा नै निकै राम्रो प्रतिक्रिया पाइरहेको एटो–३ को लम्बाई ४४५५ एमएम, चौडाई १८७५ एमएम र उचाई १६१५ एमएम रहेको छ । यसमा २७२० एमएमको ह्वीलवेस छ ।
नयाँ भर्सनमा कम्पनीले पीक पावर १०० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर दिइएको छ । यसले ३१० एनएम टर्क प्रदान गर्छ । साइमेक्स इंकले नेपाल ल्याउने १०० किलोवाट मोटर जडान भएको एटो–३ मा पनि ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । यसको रेन्ज पनि पहिलेको भन्दा बढ्ने अनुमान गर्न सकिन्छ ।
अन्य सबै फिचर १०० किलोवाट र १५० किलोवाटको गाडीमा समान रहेको छ । सुरक्षाको लागि यो एसयूभीमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । यसका साथै ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट जस्ता फिचर दिइएको छ ।
यसको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । फिटनेस र म्यूजिकको थिममा तयार भएको इन्टेरियरले जो कसैलाई लोभ्याउने छ । मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिट, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ ।