काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले क्यूआर कोडसहितको पौने १६ लाख थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गरेको छ ।
गत कात्तिक २१ देखि लाइसेन्स छाप्न सुरू गरेको केन्द्रले साढे ७ महिनामा (बिहीबारसम्म) कुल १५ लाख ७३ हजार ७३५ थान लाइसेन्स छापेको हो ।
केन्द्रका अनुसार हालसम्म ४१ हजार ८४ वटा आपतकालीन, १ लाख ३९ हजार ९८१ दैनिक प्रिन्ट र १३ लाख ९२ हजार ६७० थान ब्याकलग लाइसेन्स प्रिन्ट गरिएको छ ।
त्यस्तै, ८६ हजार ११ वटा लाइसेन्स छपाइको प्रक्रियामा रहेको केन्द्रले जनाएको छ । यातायात व्यवस्था विभाग र केन्द्र बीच २०८२ कात्तिक १२ गते पहिलो चरणमा वैशाख १२ भित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो । त्यस्तै, दोस्रो चरणमा वैशाख ४ गते थप १७ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो । यी लाइसेन्स आगामी असार मसान्त भित्रै छापिसक्नुपर्नेछ ।
केन्द्रका अनुसार पहिलो चरणको सम्झौता अनुसारको लाइसेन्स समयमै सम्पन्न गरी हाल धमाधम दोस्रो चरणका लाइसेन्स छपाइ भइरहेको छ । सम्झौता अनुसार अब बाँकी झण्डै १३ लाख लाइसेन्स असार भित्रै छाप्नुपर्नेछ । हाल दैनिक ४० हजार लाइसेन्स प्रिन्ट भइरहेकाले उक्त लाइसेन्स समयमै छापिसक्ने केन्द्रले जनाएको छ ।


