काठमाडौं । हुन्डाईले आफ्नो चर्चित ह्याचब्याक आइ २० को न्यू जेनेरेसन (चौथो पुस्ता) मोडल नयाँ प्लेटफर्म र डिजाइनमा ल्याउने भएको छ । कम्पनीले हालको आइ २० को तुलनामा न्यू जेन मोडलमा ठूलो परिवर्तन गर्न लागेको हो ।
कम्पनीले ब्राजिलबाट न्यू जेन आइ २० को पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा न्यू जेन आइ २० को अगाडिको आकर्षक लाइटको केही अंश मात्र देखिए पनि यो पूरै नयाँ डिजाइनमा तयार हुने अपेक्षा गरिएको छ ।
यसमा हुन लागेको सबैभन्दा महत्त्वपूर्ण विकास भनेको यसको आधारभूत संरचनामा गरिने सुधार हो । जसले न्यू जेन आइ २० को आकारलाई थप सन्तुलित बनाउने, भित्री भाग अझ फराकिलो र व्यवस्थित बनाउने बाटो खोल्नेछ । साथै, भारत जस्ता बजारहरूमा हाइब्रिड प्रविधि भित्र्याउने बाटो पनि खोल्नेछ।
नयाँ प्लेटफर्मले गाडीमा विद्युतीय प्रविधिका लागि पनि स्थान उपलब्ध गराउनेछ । जुन अहिले बजारमा रहेको पुरानो मोडलमा सुरुमा व्यवस्था गरिएको थिएन ।
हुन्डाईले हालको मोडलमा रहेको निकै ठूलो अगाडिको ग्रिलको डिजाइनलाई हटाएर नयाँ आइ २० मा अलि सीधा र ठाडो देखिने अगाडिको भाग प्रयोग गरेको छ । यसमा प्रष्ट देखिने इलेमेन्टहरूमा कारको पूरै चौडाइ ढाक्ने बत्तीको पट्टी, वाइ आकारको डीआरएल एलईडी लाइट र धेरै प्रकाश फ्याँक्ने एंगुलर हेडल्याम्प दिइएको छ ।

बम्परको केही माथि आयताकार जाली राखिएको छ भने तलपट्टि हावा छिर्ने ठूलो ठाउँ र चारकुने साइड कभरहरू उपलब्ध हुनेछन् । परीक्षण भइरहेका गाडीहरूले यसको झ्याल र ढोकाको भागको डिजाइन पनि परिवर्तन गरिएको र पछाडिको ढोकातिर अलि बढी घुमाउरो बनाइएको देखाउँछन्।
गाडीलाई कपडाले पूरै ढाकिएकाले धेरै विवरणहरू लुकेका छन् । तर, यसको समग्र रूप हालको मोडलको तुलनामा अलि बढी परिपक्व र कम तडकभडक भएको देखिन्छ । पछाडिको भागमा हुन्डाईले एकापसमा जोड्ने पूरै चौडाइको बत्तीको पट्टीको शैलीलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
यसको क्याबिनमा सबैभन्दा ठूलो सुधार हुने तय भएको छ। परीक्षणका क्रममा देखिएका नमूनाहरूले नयाँ डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर र इन्फोटेनमेन्ट सिस्टमलाई एउटै कभरभित्र समेटेको कर्भ स्क्रीन रहने छ । यसमा हुन्डाईको पछिल्लो स्टेयरिङ ह्वील डिजाइन पनि रहने छ ।
यसको पावर ट्रेन भने देश अनुसार केही फरक हुने अनुमान छ । ब्राजिल जस्ता विश्वव्यापी बजारहरूमा १.०९लिटरको टर्बो इन्जिन सहितको विभिन्न इन्धन विकल्पहरू उपलब्ध हुने अपेक्षा गरिएको छ । भारतमा भने यसअघिकै १.२९ लिटरको साधारण पेट्रोल र १.०९लिटरको टर्बो पेट्रोल इन्जिन कायमै रहने सम्भावना छ। यद्यपि, माइलेज सुधार्न हुन्डाईले यसमा माइल्ड हाइब्रिड प्रविधि थप्ने सम्भावना बलियो छ ।
हुन्डाईले यो दशकको अन्त्यसम्ममा विभिन्न वर्गका धेरै हाइब्रिड गाडीहरू ल्याउने योजना घोषणा गरिसकेको छ । नयाँ पुस्ताको आइ २० यसबाट फाइदा पाउने प्रमुख गाडी बन्न सक्छ। सार्वजनिक गरिएको झलकले यसको अगाडिको भाग पूर्ण रूपमा परिवर्तन गरिएको पुष्टि गर्छ ।


