उबरले नेपालमा औपचारिक रूपमा सुरू गर्यो सेवा

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय राइड हेलिङ कम्पनी उबरले नेपालमा औपचारिक रूपमा सेवा सुरू गरेको छ ।

जेठ पहिलो सातादेखि अनौपचारिक रूपमा सेवा दिन थालेको कम्पनीले शुक्रबार (आज)देखि औपचारिक रूपमा संचालनमा आएको हो ।

यससँगै नेपाल एसिया प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ । कम्पनीले नेपालमा दुइपाँग्रे र चारपाँग्रे दुवै सवारी मार्फत सेवा सुरू गरेको हो । कम्पनीले चारपाँग्रे सवारीका लागि ‘उबर गो’ र ‘उबर कन्फर्ट’ तथा दुईपाँग्रेका लागि ‘उबर बाइक’ सेवा उपलब्ध गराएको छ ।

यससँगै अब नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय यात्रुहरूले एउटै एपमार्फत सहज रूपमा सेवा लिन सक्ने कम्पनीले जनाएको छ । यसले नेपालीसँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई थप सुविधा पुग्नेछ ।

उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टाइलरले नेपाल प्रवेशलाई उबरको विश्वव्यापी विस्तार यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। नेपालमा बढ्दो तीव्र सहरीकरण, डिजिटल पहुँच, पर्यटन क्षेत्रको वृद्धि लगायत कारण आकर्षक गन्तव्य रहेको उनको भनाइ छ ।

हाल काठमाडौंबाट सेवा सुरु गरेको कम्पनीले आगामी दिनमा क्रमशः देशका अन्य सहरी क्षेत्रमा विस्तार गर्ने रणानीति बनाएको छ । उबरले विश्वका ७० बढी देशमा सेवा दिँदै आएको छ ।

हाल नेपालमा पठाओ, इन्ड्राइभ, याङ्गो लगायत कम्पनीले राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएका छन् । उबर नेपाल आएसँगै प्रतिस्पर्धा बढ्ने र यात्रुले थप विकल्प पाएका छन् ।


Back_to_top