२०१८ मा भारतीय बजारमा बिक्री बढाउने अटो कम्पनी, यी कम्पनीको घट्यो

सन् २०१८ मा विभिन्न अटो निर्माता कम्पनीहरूले भारतीय बजारमा नयाँ–नयाँ मोडलहरू सार्वजनिक गरेका थिए । टाटा, मारुती सुजुकी, टोयोटा, फियाट, हुन्डाईलगायतका कम्पनीहरूले नयाँ–नयाँ फिचर अपडेट गर्दै ग्राहकहरूको ध्यान आकर्षित गरेका थिए । 

ती कम्पनीहरूको पहिलेको तुलनामा व्यापारमा केही वृद्धि भएको छ । तर, रेनो, स्कोडा, निसानलगायतका कम्पनीहरूले सन् २०१८ मा व्यापारमा वृद्धि गर्न सकेनन् । 

टाटा: टाटा मोटर्सले सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा बढी युनिट कार बिक्री गरी सबैभन्दा धेरै व्यापार वृद्धि गरेको छ । कम्पनीले २ लाख १४ हजार ४८९ युनिट गाडी बिक्री गरेको छ । 

गतवर्ष (२०१७) मा कम्पनीले १ लाख ६९ हजार ८४० युनिट गाडी बिक्री गरेको छ । पहिलेको वर्षको तुलनामा सन् २०१८ मा उसको २६ प्रतिशतले व्यापार वृद्धि भएको हो । 

फियाट: सन् २०१८ मा फियाटले बजारमा चार मोडलहरू सार्वजनिक गरेको थियो । कम्पनीले यस वर्ष यी चार मोडलहरूको कुल १९ हजार ३० युनिट बिक्री गर्न सफल भयो । गतवर्ष १५ हजार ८ सय ३७ युनिट गाडी बेचेको थियो । २०१७ को तुलनामा कम्पनीले यस वर्ष २० प्रतिशत व्यापार वृद्धि गरेको हो । 

फोर्ड: फोर्डले २०१८ मा १२ प्रतिशत व्यापार वृद्धि गरेको छ । कम्पनीले यस वर्ष ७ वटा मोडलहरू सार्वजनिक गरेको थियो । जसमा फिगो, एस्पाएर, ईकोस्पोर्ट, फ्रि–स्टाइल, फिएस्टा, मस्टाङ, इन्डोभर थिए । कम्पनीले यस वर्ष भारतमा कुल ९७ हजार ८०४ युनिट गाडी बिक्री गरेको भने गतवर्ष यो सङ्ख्या ८७ हजार ५८८ युनिट रहेको थियो । 

टोयोटा: यस वर्ष टोयोटाले ९ प्रतिशत व्यापार वृद्धि गरेको छ । सन् २०१८ मा भारतीय बजारमा टोयोटाले विभिन्न ९ मोडलहरू सार्वजनिक गरेको थियो । सन् २०१७ मा कुल १ लाख ३९ हजार ५६६ युनिट गाडी बिक्री गरेको कम्पनीले यस वर्ष त्यो सङ्ख्या वृद्धि गर्दै १ लाख ५१ हजार, ५६६ युनिट पुर्याएको हो । 

मारुती सुजुकी: मारुती सुजुकीले सन् २०१८ मा १५ वटा मोडल सार्वजनिक गरेको थियो । कम्पनीले सन् २०१७ मा कुल १६ लाख २ हजार ५२२ युनिट गाडी बिक्री गरेको थियो । उक्त बिक्री युनिटलाई वृद्धि गर्दै कम्पनीले अहिले कुल १७ लाख ३१ हजार १७९ युनिट बिक्री गर्दै ८ प्रतिशतले व्यापार वृद्धि गरेको छ । 

हुन्डाई: हुन्डाईले सन् २०१८ मा ११ वटा मोडल सार्वजनिक गर्दै ४ प्रतिशतले व्यापार वृद्धि गरेको छ । कम्पनीले २०१८ मा कुल ५ लाख ५० हजार २ युनिट गाडी बिक्री गरेको छ । अघिल्लो वर्ष (२०१७) मा कम्पनीले ५ लाख २७ हजार ३२० युनिटमात्रै गाडी बिक्री गरेको थियो । 

महिन्द्रा: सन् २०१८ मा महिन्द्राले कुल २ लाख ३२ हजार १८८ युनिट गाडी बिक्री गरेको छ । कम्पनीले २०१७ मा यसले जम्मा २ लाख २९ हजार ५९८ युनिट गाडी बिक्री गरेको थियो । यस वर्ष कम्पनीले जम्मा १ प्रतिशतमात्रै व्यापार वृद्धि गर्न सकेको छ । 

क-कस्को घट्यो ? 

सन् २०१८ मा फक्सवागेनले जम्मा ३७ हजार १२ युनिट गाडी बिक्री गरेको छ । अघिल्लो वर्ष (२०१७) मा ४७ हजार ७९६ यूनिट गाडी बिक्री गरेको थियो । कम्पनीको व्यापारमा यस वर्ष २३ प्रतिशतले गिरावट आएको छ । 

रेनोको पनि यस वर्ष व्यापार खस्केको छ । २०१७ मा कुल १ लाख १२ हजार ४७७ युनिट गाडी बिक्री गरेको  कम्पनीले अहिले जम्मा ८२ हजार ३६८ युनिट बिक्री गर्न सक्यो । यसवर्ष कम्पनीको व्यापारमा २७ प्रतिशतले गिरावट आएको छ । 

सन् २०१८ मा निसानको पनि व्यापार खस्केको छ । २०१७ मा कुल ५३ हजार ३८८ युनिट गाडी बिक्री गरेको कम्पनीले यस वर्ष जम्मा ४१ हजार ५८३ युनिटमात्रै बिक्री गरेको छ । यस वर्ष कम्पनीको व्यापारमा २२ प्रतिशतले गिरावट आएको छ । 

स्कोडाले २०१७ मा १७ हजार ४३८ युनिट गाडी बिक्री गरेको थियो । तर, २०१८ मा यसको व्यापारमा गिरावट आएको छ । कम्पनीले यस वर्ष जम्मा १६ हजार ६९२ युनिटमात्रै गाडी बिक्री गर्न सकेको छ । कम्पनीको व्यापार यस वर्ष ४ प्रतिशतले घटेको हो । 

होन्डाको व्यापारमा सन् २०१८ मा २ प्रतिशतको गिरावट आएको छ । कम्पनीले २०१७ मा कुल १ लाख ७९ हजार ७१ युनिट गाडी बिक्री गरेको थियो भने यस वर्ष जम्मा १ लाख ७४ हजार ८५९ युनिटमात्रै बिक्री गर्न सकेको छ ।


Back_to_top