सन् २०२४ मा चर्चासँगै बिक्रीमा सफलता पाएका तीन नयाँ कार ब्राण्ड

काठमाडौं । सन् २०२४ मा चीनबाट मात्रै १६ नयाँ ब्राण्ड नेपाल आए । नेपाल आएका सबै ब्राण्डले सफलता पाउन सक्छन् भन्ने हुँदैन । तर, एक वर्षको अवधिमा नेपाल आएर आफुलाई राम्रोसँग चिनाउन सफल ब्राण्डहरु भने थुप्रै छन् ।

परम्परागत रुपमा ईभी बिक्री गर्दै आएका बीवाइडी, एमजी, टाटा जस्ता ब्राण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल आएको पहिलो वर्षमा नै धेरै ब्राण्डले चर्चासँगै बिक्रीमा सफलता पाउन सफल भए ।

हामी माझ विदा हुन लागेको २०२४ मा नेपाल आएको दीपल, ओमोडा–जेको, नामी, लीप, एक्सपेङ, जीकर जस्ता ब्राण्डका गाडीले केहीले चर्चा र केहीले बिक्रीमा सफलता हात परे । जसमा सर्वाधिक चर्चा र सफलता पाएका तीन ब्राण्डका बारेमा यहाँ चर्चा गरिएको छ ।

दीपल

एमएडब्लू वृद्धिले नेपाल ल्याएको ठूलो क्रसओभर, फ्यूचरस्टीक डिजाइन र मोर्डन फिचरले भरिपूर्ण दीपल एस-०७ मोडलले गज्जपको ब्यापार ग¥यो । एक वर्षको अवधिमा झण्डै ७०० युनिट दीपल एस-०७ नेपाली सडकमा गुड्न थालिसकेका छन् ।

विद्युतीय कारमा फ्यूचरस्टीक डिजाइन र ७२ लाख रुपैयाँ सुरुवाती मूल्य तोकेर बजारमा आएको एस-०७ किन्नेको लामो लाइन नै लाग्यो भन्न मिल्ने अवस्था थियो । ६६.८ किलावाट आवर क्षमताको एनएमसी ब्याट्रीमा उपलब्ध एस-०७मा ९९ किलोवाट आवरको मोटर दिइएको छ ।

डब्लूएलटीपी रेन्ज ४३५ किलोमिटर रहेको कार डिजाइनसँगै कलरमा पनि पृथक रहेको कारण सडकमा अलग पहिचान बनाउन सफल भएको थियो । त्यसमाथि फ्रेमलेस डोर, मेमोरीसहितको वेलकम सिट, रोटेड स्कृन, सफ्टटच ड्यासबोर्ड जस्ता फिचरले युवाहरुलाई आकर्षित गर्न सफल भयो ।

ओमोडा/जेको

चेरी ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोलाई एसपीजी अटोमोवाइलले नेपाल ल्याएको हो । बजारमा आएको पहिलो वर्षनै ठूलो चर्चा र सफलता पाउन सफल ओमोडा–जेको चर्चित ब्राण्ड बनिसकेको छ । नेपाल आएको एक वर्षभन्दा कम समयमा ६०० युनिटभन्दा बढी ओमोडा ई-५ र २५० युनिट माथि जेको जे-६ आयात भएको देखिन्छ ।

ओमोडा ई-५ मोडल कुप्पे डिजाइनमा उपलब्ध रहेको कारण यसले बजारमा अलग पहिना बनायो । साथै, बीवाइडी एटो-३ धेरै राम्रो बिक्री भइरहेको समयमा अलग स्वाद प्रस्तुत गरेको कारण ई-५ ले सफलता पायो । साथै, बीवाइडीको ब्याट्री उत्पादन गर्ने कम्पनी फिन ड्रीमले बनाएको ब्लेड ब्याट्री नै ओमोडा ई-५ भएको कारण पनि धेरैको रोजाईमा पर्न सफल भयो ।

ओमोडा ई-५ मा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ६१ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । यसको मूल्य भेरियन्ट अनुसार ५५ लाख ९९ हजारदेखि ६२ लाख रुपैयाँसम्म पर्छ ।

जेको जे-६ लाइफ एसयूभी भएको कारण पनि धेरैले रुचाएका हुन् । भदौमा नेपाल आएको जे–६ पनि निकै सफल भइसकेको छ । यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नामी बक्स

एमएडब्लू वृद्धिले नै नेपाल ल्याएको नामीको चर्चा नाडा अटो शो २०२४ बाट ब्यापक भएको हो । चार मिटर लामो ह्याचव्याक कार ३० लाखभन्दा कम सुरुवाती मूल्यमा बिक्री गर्ने घोषणा भएसँगै यसमा धेरैको चासो भएको थियो । धेरैले अटो शोमा नै यसको बुकिङ गरे ।

चाडपर्वपछि ग्राहकलाई हस्तान्त्रण गर्न सुरु भएको नामी बक्स ह्याचब्याक अहिलेसम्म ३५० युनिटभन्दा बढी आयात भइसकेको छ । ३१ र ४२ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध नामी कारमा मोर्डन फिचरको लामो लिष्ट पाउन सकिन्छ ।

ह्याचव्याक कारमै पहिलो मेरोरी सिट, फ्रेमलेस डोर, एडास २.० जस्ता फिचर उपलब्ध भएको कारण यसले चर्चा र बिक्री दुबै पाउन सफल भयो । यसको टप भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top