नयाँ फिचरको लामो लिस्ट सहित आयो ‘युनिकर्न-१६०’

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो चर्चित मोटरसाइकल युनिकर्नको २०२५ भर्सन लन्च गरेको हो ।

कम्पनीले १६० सीसी सेग्मेन्टमा होन्डा युनिकर्न १ लाख १९ हजार ४८१ रुपैयाँ मूल्य निर्धारण गरी बजारमा ल्याएको हो । होन्डाले अपग्रेड गरिएको मोडलमा धेरै नयाँ फिचरहरु थप गरेर बजारमा ल्याएको छ ।

नयाँ युनिकर्नमा हेडलाइट नयाँ डिजाइनको प्रयोग भएको छ । ओडोमिटर, स्पीडोमिटर, ट्रीपमिटरसहितको होन्डा सीबी ३०० मा प्रयोग भएको पुरा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल अब युनिकर्नमा पाउन सकिन्छ । यसमा गियर पोजिसन इन्डिकेटर, सर्भिस ड्यु इन्डिकेटर र इको इन्डिकेटरसँगै अन्य आवश्यक जानकारी प्राप्त हुन्छ । नयाँ मोटरसाइकलमा युएसबी टाइप–सी चार्जिङ पोर्ट पनि दिइएको छ ।

प्रिमियम कम्प्यूटर सेग्मेन्टमा बजारमा उपलब्ध भएको होन्डा युनिकर्नमा १६२.७१ सिसीको सिंगल–सिलिन्डर, एफआइ, ओबिडि टू–बी मापदण्ड अनुसारको नयाँ इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १३ ब्रेकहर्स पावर र १४.५८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पीड गियरबक्स पाउन सकिन्छ ।

कुनै समय नेपालमा सर्वाधिक सफल मोटरसाइकल होन्डा युर्निकन अहिले नेपालमा उपलब्ध छैन । नयाँ अपग्रेड भएको मोडल नेपाल ल्याउने वा नल्याउने विषयमा पनि कम्पनीले कुनै आधिकारीक जानकारी दिएको छैन ।


Back_to_top