इलेक्ट्रीक कारमा बीवाइडी र टाटा बीच कडा टक्कर, अन्यको आयात कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा विद्युतीय सवारी (ईभी) आयातमा टाटा र बीवाइडी बीच  कडा टक्कर देखिएको छ । चालु आवको ३ महिना (साउन-असोज)को तथ्यांकले यी दुई ब्राण्ड बीच ईभी आयातमा तीव्र प्रतिस्पर्धा देखाएकाे हाे ।

भन्सार विभागको तथ्यांक अनुसार ३ महिना बीवाइडीले सबैभन्दा धेरै ६७० युनिट विद्युतीय कार आयात गरेको छ । बीवाइडीलाई टक्कर दिएको टाटाले १३ युनिट कम अर्थात् ६५७ युनिट ईभी आयात गरेको हो ।

३ महिनामा कुल आयात भएको २ हजार १८४ युनिट कारमा यी दुई कम्पनीको हिस्सा ६० प्रतिशतभन्दा धेरै छ । यी दुई कम्पनीले मात्रै १ हजार ३२७ युनिट ईभी आयात गरेका छन् ।

सर्वाधिक ईभी आयात गरेको बीवाइडीको आयात हिस्सा ३०.६७ प्रतिशत रहेको छ । जबकी टाटाको आयात हिस्सा ३०.०८ प्रतिशत देखिन्छ । तीन महिनाको अवधिमा बीवाइडीले एटो-३ एड्भान्स मोडल ३५० युनिट, एटो-३ सुपेरियर २० युनिट र डल्फिन ह्याचब्याक ३०० युनिट आयात गरेको छ ।

दोस्रो धेरै ईभी आयात गरेको टाटाले सबैभन्दा धेरै पन्च ईभी ल्याएको छ । तीन महिनामा पन्च ईभी ३७६ युनिट आयात भएको देखिन्छ । साथै, टिगोर एक्सप्रेस टी २२५ युनिट आयात हुँदा टियागो ईभी ५६ युनिट आएको देखिन्छ ।

तेस्रो र चौथो स्थानको लागि पनि दीपल र ओमोडा/जेको बीच कडा टक्कर भएको छ । यी दुई कम्पनीको आयात पनि केही युनिट मात्रै तलमाथि छ । चालु आर्थिक वर्षको तीन महिनामा दीपलले १२.७७ प्रतिशत आयात हिस्सा ओगट्दै तेस्रो स्थानमा आफूलाई उभ्याएको छ । उसले दीपल एस-०७ जम्मा २५९ युनिट आयात गरेको छ, भने एल-०७ को आयात २० युनिट गरेको छ । उसको कुल आयात २७९ युनिट छ ।

दीपललाई पच्छाइरहेको ओमोडा/जेकोले पनि १२.२२ प्रतिशत आयात हिस्सा ओगटेको छ । उसले तीन महिनाको अवधिमा २६७ युनिट गरेको छ । एसपीजी अटोमोबाइलले १७९ युनिट ओमोडा ई-५ आयात गर्दा जेको जे-६ को आयात ८८ युनिट गरेको छ ।

पाँचौं धेरै आयात गर्ने एमजीले ४.९४ प्रतिशत आयात हिस्सा ओगटेको छ । एमजीको आयातमा ९० युनिट कोमेट ईभी भने एमजी-४ को आयात १४ युनिट छ । यस अवधिमा साइबर स्टर १ युनिट आउँदा जेडएस ईभी ३ युनिट आयात भएको देखिन्छ ।

नेटाले तीन महिनाको अवधिमा ७४ युनिट कार ल्याएको छ । उसको आयात हिस्सा ३.३८ प्रतिशत देखिन्छ । त्यसमा नेटा भीको आयात ५० युनिट छ भने नेटा एक्सको २४ युनिट छ ।

डायुन ईभीको आयात ४० युनिट छ । यसले पनि १.८३ प्रतिशत आयात हिस्सा ओगट्दा डोङफेङको नामी २९ युनिट र सेरेस ई १ को आयात २ युनिट देखिन्छ । यसको आयात हिस्सा १.४१ प्रतिशत छ । जिकरले पनि २५ युनिट ल्याएको छ । यसले १.१४ प्रतिशत आयात हिस्सा ओगटेको छ ।

यी बाहेक भोल्टसले ९ युनिट, स्काईवेल ७ युनिट, स्मार्ट २ युनिट, केई ३ युनिट, टेस्ला २ युनिट, एक्सपेङ ४ युनिट, ब्रम्बी २ युनिट, लीप मोटर्स सी-१० २ युनिट, हाउजी १ युनिट र एलईभी १ युनिट आयात भएको देखिन्छ ।


Back_to_top