छापिए क्यूआर कोडसहितका साढे ३ लाख लाइसेन्स

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले हालसम्म क्यूआर कोडसहितको साढे ३ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गरेको छ ।

गत कात्तिक २१ देखि लाइसेन्स छाप्न सुरु गरेको केन्द्रले हालसम्म कुल ३ लाख ५४ हजार १७४ थान लाइसेन्स छापेको हो ।

केन्द्का अनुसार हालसम्म ३४ हजार २६६ वटा आपतकालीन र ३ लाख १९ हजार ९०८ थान ब्याकलग लाइसेन्स प्रिन्ट गरिएको छ ।

त्यस्तै, १ लाख ७५ हजार ५९८ थान लाइसेन्स छपाइको प्रक्रियामा रहेको केन्द्रले जनाएको छ । यातायात व्यवस्था विभाग र केन्द्र बीच २०८२ कात्तिक १२ गते ६ महिना भित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो ।

सो अनुसार केन्द्रले यही वैशाख १२ गतेसम्म १२ लाख थान लाइसेन्स छापिसक्नुपर्नेछ । तर, हालसम्मको प्रगति हेर्दा समयमै काम सकिनेमा शंका छ । केन्द्रकै अनुसार अझै ८ लाख ४५ हजार ८२६ थान लाइसेन्स छाप्न बाँकी छ । अब १० दिनमा उक्त लाइसेन्स छाप्नुपर्नेछ ।

केन्द्रका अधिकारी भने तोकिएकै समयमा लाइसेन्स छापिसकने बताउँछन् । अहिले सिफ्टमा काम भइरहेकाले अब दुई साताका लाइसेन्स छापिसकिने उनीहरूको भनाइ छ । हाल दैनिक ४० हजार बढी थान लाइसेन्स छपाइ भइरहेको जनाइएको छ ।

विभागका अनुसार हालसम्म करिब २९ लाख ब्याकलग लाइसेन्स छन् । तीमध्ये १७ लाख लाइसेन्स छपाइको ठेक्का लागन बाँकी छ । विभागले आगामी असार मसान्त भित्रै बाँकी सबै लाइसेन्स छापिसक्ने लक्ष्य राखिएको छ । त्यसका लागि केन्द्रसँग सम्झौताको तयारी भइरहेको विभागले जनाएको छ ।


Back_to_top